शनिबारसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या नौ सय ४८ पुगेको छ । ४० दिनसम्म शान्त रहेको प्रदेशमा पछिल्लो समय भारतबाट नेपालीहरु आएसंगै कोरोनाका संक्रमितहरु एक्कासी वढिरहेका छन् ।
यसअघिचैत १४ गतेदेखि वैशाख १ गतेसम्म ५ जना मात्रै संक्रमित रहेका थिए । उनीहरु सवै जना कोरोनालाई जितेर घर फर्किएपछि ‘प्रदेश कोरोनामुक्त’ भएको भन्दै प्रचार समेत गरियो । त्यसपछिका ४० दिन साच्चै प्रदेश कोभिड–१९का संक्रमितमुक्त नै रह्यो ।
त्यो अवस्था हिजाआज भने निकै फेरिएको छ । पछिल्ला तीन सातायता मात्रै संक्रमितको संख्या ह्वात्तै वढेको छ । दिनहुँ आँकडा डेढसयभन्दा माथिका दरले उकालो चढिरहेको छ । अझैँ संकलित ‘थ्रोट स्वाब’हरु परीक्षण भईनसकेको अवस्था एकातिर छ भने, अर्कातिर त्यसको संकलनको दायरा समेत न्युन छ । सो अवस्थाले यहाँको अवस्था भयावय बन्दै गएको छ । यद्यपी पहिलाभन्दा परिक्षणको दायरा वढाउँदै लगिएकोले संक्रमित संख्या वढ्न सक्ने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र सिंह कार्कीले बताए ।
अधिकांश संक्रमित भारतबाटै आएका
सुदूरपश्चिमका पहिलो संक्रमित दुवईबाट आएका थिए । उनीबाट उनकी भाउजुलाई नेपालमै संक्रमण भएको थियो । यसबाहेक शुरुवातमा देखिएका अन्य तीनजनामध्ये वीरगञ्जबाट आएकी महिलाबाहेक दुईजना भारतबाट आएकाहरु थिए ।
त्यसभन्दा पछिको अवस्था भने निकै फरक छ । अहिले सुदुरपश्चिममा कोरोनाको संक्रमण देखिएका अधिकांश भारतबाट आएका छन ।
कैलाली र कञ्चनपुरका नाका भएर पछिल्लो तीन सातामा झण्डै ९० हजारभन्दा वढी स्वदेश फर्किएर छन् । उनीहरुमध्ये एक हजार आठसय जनाको मात्रै सीमामा ¥यापिड डाईग्नोस्टिक टेस्ट(आरडीटी) परीक्षण भयो । बाँकी सबै बिना परीक्षण भित्रिए । यसरी बिनापरीक्षण भिœयाउदा संक्रमण पनि भित्रिएको सरोकारवालाहरु बताउछन् । ‘चेकजाँच विना भिœयाउदा खतरा बढेको छ,’ सेती प्रादेशिक अस्पतालका कोरोना विभाग प्रमुख डाक्टर शेरवहादुर कमर भन्छन,‘ठुलो भिड व्यापक संक्रमण भएको ठाउँबाट एकैसाथ विनाकुनै सतर्कता अपनाएर आए । त्यसमा पनि जाँच नगरीकनै भिœयाउन अत्याधिक मात्रामा संक्रमण आएको छ ।’
पछिल्लो समय दिनहुँ पुष्टि भईरहेकामध्ये अधिकांश संक्रमित भारतबाट आएका छन् । संक्रमितको चाप बढ्दा उनीहरुको व्यवस्थापनमा पनि समस्या पैदा भईरहेको सरोकारवालाहरु बताउछने । ‘संक्रमण देखिरहेका सबै भारतबाट आएकाहरु छन्,’ स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासी भन्छन्,‘संक्रमितको संख्या बढिरहदा उनीहरुको व्यवस्थापन र उपचारमा पनि समस्या उत्पन्न हुने स्थिती छ ।’
भारतबाट आएकाहरुबाट अन्यमा संक्रमण
भारतबाट आएकाहरुबाट अन्यमा समेत संक्रमण देखिसकिएको छ । यसबाट सामुदायिक संक्रमणको जोखिम समेत बढ्दै गएको छ ।
पछिल्लो एक महिनामा शनिबारसम्म देखिएका नौ सय ४८ जना संक्रमितमध्ये डडेल्धुरामा एकजना सरकारी कर्मचारी हुन । उनको ‘ट्राभल हिस्ट्री’ नभएका उनको संक्रमणको स्रोत पत्ता लागेन् ।
तर बाँकी स्थानीय संक्रमणको स्रोत भारतबाट आएका संक्रमित नै रहेको देखिएको छ । प्रदेशमा देखिएका संक्रमितहरुमध्ये ११ जना स्वास्थ्यकर्मी छन्, जो संक्रमितकै उपचारमा संलग्न व्यक्तीहरु हुन् ।
त्यसबाहेक क्वारेन्टिनमा खाना पकाउने काममा संलग्न भान्छे, संक्रमित तथा क्वारेन्टीनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, उद्धार कार्यमा संलग्न तीनजना जनप्रतिनिधी र राजनीतिज्ञहरुमा समेत कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
सामाजिक संक्रमणको डर
पछिल्लो समय भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरुलाई १४ दिन राखेर धमाधम बिनापरीक्षण घर पठाउने गरिएको छ । अधिकांशहरुलाई अविश्वसनिय आरडिटी परीक्षण गरेर पठाईएको छ । जसले समुदायमा समेत संक्रमण फैलने डर व्यापक मात्रामा उब्जिएको छ । ‘सुदूरपश्चिम प्रदेशमा कोरोना दोस्रो चरणमा प्रवेश गरिसकेको हो,’ सेती प्रादेशिक अस्पतालका कोभिड–१९ उपचार विभाग प्रमुख डाक्टर कमर भन्छन्, ‘अहिले नै समुदायस्तरमा भने संक्रमण फैलि सकेको छैन । तर जोखिम भने बढेर गयो । परिक्षण नगरेर पठाईएको भन्ने पनि छ । त्यसले जोखिम बढाउछ नै । सजकता अपनाएमा अझै रोक्न सकिन्छ ।’
(फ्रिडम फोरम र ई–रैवार डटकमको सहकार्यमा ।)


