काठमाडौं, कार्तिक ६ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडा अधिवेशनको उद्घाटन गरेका छन् । शनिवार ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल रुपमा वडा अधिवशनको उद्घाटन गरेका हुन् ।
अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सवै वडाका अधिवेशनहरू भव्य, समझदारी र एकतावद्धसाथ सम्पन्न हुनेमा विश्वास व्यक्त गरे । ओलीले गरेको वडा उद्घाटन इन्टरनेट पहुँच भएका वडामा समेत उद्घाटन कार्यक्रम ‘डिस्प्ले’ गरिएको छ । पार्टीका सदस्यले नै वडाको नेतृत्व चयन गर्ने अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ ।
आज देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुँदैछ । बाढी पहिरोका कारण प्रभावित केही वडामा भने अधिवेशन सरेको छ । पार्टीका संगठित सदस्यहरुले नै वडाको नेतृत्त्व चयन गर्नेछन् । अधिवेशनले पाँचजना प्रतिनिधिसहित सदस्यहरु चयन गर्नेछ । अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उपसचिव –२ चुनिनेछन् ।
गाउँपालिका–नगरपालिकाका वडामा ३१ सदस्यीय कमिटी बन्नेछ । त्यस्तै उपमहानगरपालिकाका वडामा ४१, महानगरपालिका रहेको वडामा ५१ सदस्यीय कमिटी गठन हुनेछ ।
वडा अधिवेशनको भर्चुअल विधिबाट उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामीको संज्ञा दिएका छन् । अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप पनि देखिएको बताएका छन् ।
‘प्रतिगामी शक्तिहरु अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ, देशलाई अस्थिरतामा धकेल्ने, देशलाई अग्रममनमा जान नदिने’ ओलीले भने, ‘स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने यसप्रकारका क्रियाकलाप हामीले देखिरहेका छौं, यो विपरीत बाटो हो प्रतिगमनतर्फको बाटो हो ।’
अहिले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको ओलीले आरोप लगाए । ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ’ उनले भने ।
ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बाहिरिएपछि पार्टी सही ढंगले अगाडि बढेको बताए । उनले अब पार्टीभित्रको अनुशासनहीनता अन्त्य हुने बताए । उनले भने, ‘पार्टी छोड्ने, आफ्नो समूह लिएर जाने काम भयो । अब पार्टी एक भएको छ । अब पार्टीलाई कमजोर बनाउने तत्व बाहिरिएपछि राम्रो भएको छ । प्रचण्डले पार्टी बहिर्गमन गरेपछि र माधव नेपाल फरक ढंगले गएपछि हामीले पार्टीलाई सही ढंगले अगाडि बढाएका छौं ।’
पछिल्लो समय कमिटी निर्माणका क्रममा पार्टीभित्र अनुशासनहीनता देखिएपछि अब त्यो अन्त्य हुने ओलीले बताए । यस्तै उनले वडा अधिवेशन एकतापूर्वक सफल रुपमा सम्पन्न हुनेछन् भन्ने विश्वास लिएको बताए । ‘एकैचोटी यति धेरै अधिवेशन उद्घाटन गर्नु सम्भवतः ऐतिहासिक हो । यस्तो अधिवेशन एमालेजस्तो एकता र संगठित पार्टी भएकाले मात्र सम्भव भएको हो ।’
अधिवेशनको भर्चुअलरुपमा उद्घाटनको क्रममा ओलीले बाढीपहिरो पीडित नागरिकलाईतत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् । यही कात्तिक १ देखि भारी वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको छ । क्षतिको विवरण आउन अझै बाँकी छ ।
अध्यक्ष ओलीले बेमौसमा आएको वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते को शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
अर्काे प्रशंगमा अध्यक्ष ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दाबी गरे । उनले उन्नतस्तरको समझदारीका साथ देशभरका सबै वडा अधिवेशनहरू सम्पन्न हुने विश्वास व्यक्त गरे । अतिवृष्टिका कारण आज हुन नसकेका वडा अधिवेशनहरू छिट्टै सम्पन्न गर्न पनि सम्बन्धित कमिटीहरूलाई अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।


