अमेरिकाद्वारा नेपाललाई  १ लाख ६२० मात्राको फाइजर खोप प्रदान

Spread the love

काठमाडौं, कार्तिक १२ (ई-रैबार)

अमेरिकी सरकारले नेपाललाई  १ लाख ६२० मात्राको फाइजर खोप उपलब्ध गराएको छ । अमेरिकी सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि १ लाख ६२० मात्राको फाइजर खोप अनुदानस्वरूप उपलब्ध गराएको हो ।

अमेरिकाले नेपाललाई यो अत्यन्तै प्रभावकारी खोप प्रदान गर्नुअघि गत असारमा एक मात्रा लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एन्ड जोन्सन खोप अनुदानस्वरूप उपलब्ध गराएको थियो ।

१२ करोड २० लाख डलरभन्दा बढीको सहायता जीवन रक्षा गर्ने स्वास्थ्य सामग्री, तालिम र प्राविधिक सहयोगको स्वरूपमा नेपाललाई प्रदान गरेको थियो । महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरूप अमेरिकाले खोप नि:शुल्क र पूर्वशर्तबिना अनुदानस्वरूप प्रदान गरेको हो ।

यसका अतिरिक्त अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) र उसका साझेदारहरूले अत्यन्त न्यून तापक्रमका फ्रिजर, वाक-इन फ्रिजर, वाक-इन कोल्ड रूम, फ्रिजर भ्यान, क्रायोजेनिक पन्जा र चश्मा उपलब्ध गराउनुका साथै स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर नेपाललाई फाइजर खोपको यस किस्ताका लागि तयारी गर्न मद्दत गरेका छन् । यसको फलस्वरूप थप खोप प्राप्त गर्ने दिशामा नेपालका विकल्प र क्षमतालाई बल पुग्नेछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिडे केभान्शाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई खोप हस्तान्तरण गरे ।

युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिनेछ ।

“जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरूप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खुशी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई गर्व लागेको छ । यसको फलस्वरूप नेपाललाई भविष्यमा फाइजर खोपका थप मात्राहरू प्राप्त गर्न सहज हुनेछ,” निर्देशक केभान्शाडले भनेका थिए ।