दिपायल माघ २९ (ई–रैवार)
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई महोत्सवको उद्घाटनमा नबोलाउन डोटीका पाँचवटा संगठनले चेतावनी दिएका छन् । डोटी चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेबाट दिपायलमा शुरु हुने ‘प्रादेशिक महोत्सव’को उद्घाटन मुख्यमन्त्री भट्टले गर्ने कार्यक्रम छ ।
सो महोत्सवमा दिपायल राजधानीविरुद्ध मतदान गर्ने मुख्यमन्त्री भट्टलाई नवोलाउन नेपाली कांग्रेसनिकट पाँचवटा संगठनहरु नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल आदिबासी जनजाती संघ लगायतका संगठनहरुले आग्रह गरेका हुन् । संगठनका जिल्ला अध्यक्षहरुले एक संयूक्त विज्ञप्ति निकाल्दै यस्तो चेतावनी दिएका हुन् ।
महोत्सव आम डोटेली समुदायको भावना समेट्ने, गरिमा झल्काउने र अपनत्वको भाव जगाउने महोत्सव हुनुपर्ने आफ्नो ठहर रहेको विज्ञप्तिमा भनिएको छ । ‘डोटेली माटोलाई नै अपमानित हुनेगरी गद्दारी गर्ने पात्रलाई प्रमुख अतिथिका रुपमा ल्याएर उभ्याउदा महोत्सवप्रतिको आम बुझाई सकारात्मक हुन नसक्ने र आम जनभावना कदर नहुने भएकाले आयोजक पक्षलाई बिबादित पात्रलाई प्रमुख अतिथिका रुपमा नल्याउन यसै विज्ञप्तिमार्फत आग्रह गर्दछौ,’ विज्ञप्तिमा भनिएको छ ।
‘हाम्रो आग्रहलाई आयोजक पक्षले सुन्छ भन्ने हामीले विश्वास लिएका छौ,’ नेविसंघका अध्यक्ष गणेश खड्काले भने,‘यदि नजरअन्दाज गरिए कडा आन्दोलनमा उत्रनेछौ ।’
यस्तो आन्दोलनको सम्पूर्ण जिम्मेवारी आयोजक र सरोकारवाला पक्षले लिनुपर्ने तरुण दलका अध्यक्ष नारायण बलायरले बताए । उनले भने,‘डोटेली मनोभावनाविपरित गएर गद्दारी गर्नेका पक्षमा काम भए हामी आन्दोलन गर्छौँ । त्यसको क्षतीको सम्पूर्ण जिम्मा आयोजक र राज्यले लिनुपर्छ ।’
मुख्यमन्त्रीलाई महोत्सवको उद्घाटनमा नबोलाउन चेतावनी


