प्रदेश सरकारले ल्याएको विधेयक संशोधन गर्न पत्रकार महासंघको माग

प्रदेश सरकारले ल्याएको विधेयक संशोधन गर्न पत्रकार महासंघको माग
Spread the love

धनगढी फागुन ४(ई-रैवार)
नेपाल पत्रकार महासंघले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको रेडियो, एफएम तथा टेलिभिजन व्यवस्थापन सम्बन्धी विधेयक संशोधनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।
महासंघले विधेयकमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी आएका बुँदा हटाउन माग गर्दै आईतबार प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह र प्रदेसशभाको विधायक समितिका सभापति नेपालु चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको नेतृत्वको महासंघका पदाधिकारी सहितको पत्रकारको टोलीले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी विधेयकमा राखिएका बुँदा सच्याउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो। विधेयकमा व्यवस्था गरिएको मिडिया बोर्ड गठन सम्बन्धीको व्यवस्था हटाउन माग गरिएको छ।
प्रदेशका कानून मन्त्रीको अध्यक्षतामा नभई स्वतन्त्र निकायमा रहेको व्यक्तिको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। यस्तै विधेयकमा उत्पादन तथा प्रशारण, दण्ड जरिवाना लगायतका प्रेस स्वतन्त्रता विपरीतका प्रावधान पनि हटाउन माग गरिएको छ।
प्रदेशको कानून मन्त्रालयले तयार गरेको विधेयक प्रदेशसभामा प्रेस भएर अहिले दफावार छलफलका लागि विधायक समितिमा पुगेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै सभामुख थापा, कानून मन्त्री शाह र विधायन समितिका सभापति चौधरी विधेयक संशोधन गर्नमा सकारात्मक देखिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष अर्जुन शाहले जानकारी दिए।