कोरोना अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु

कोरोना अस्पतालमा थप ३ जना संक्रमितको मृत्यु
Spread the love

 

धनगढी, भदौ २० (ई-रैवार)

कोरोना अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल सञ्चालितको कोरोना विशेष अस्थायी अस्पतालमा २ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए ।

यो सँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।

त्येसैगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर–११ घर भएकी ४३ वर्षीया महिला छिन् । उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो । बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा.सापकोटाले बताए ।