प्रधानमन्त्रीको निर्देशन : ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ’

प्रधानमन्त्रीको निर्देशन : ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ’
Spread the love

 

काठमाडौं, भदौ १९ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनगर्ठन नहुने संकेत गरेका छन् ।  ‘हल्लाको पछि नलाग्नुस्, मन्त्रिपरिषद् पुनगर्ठन हुँदैन’ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई भनेका छन्, ‘ढुक्कसँग आफ्नो जिम्मावारी पूरा गर्न लाग्नुस् ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने संकेत गरेको बालुवाटार स्रोतले जनाएको छ ।

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको थियो । त्यसलगतै नेकपामा मन्त्रिपरिषद् पुनर्गठनको बहस चर्किएको छ ।

मन्त्री युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आज साँझसम्म राजीनामा दिने बताएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाले शुक्रबार अपराह्‍न ४ बजे पदबाट राजीनामा दिने बताएका हुन ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले अर्थ मन्त्रालयको साढे दुईवर्षेय कार्यकालको समीक्षा गरेका छन । मन्त्री खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ७ महिने कार्यानुभव पनि बैठकमा सुनाएको बताइएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने अनुमान गरिएको थियो । तर, त्यसबारे मन्त्रिपरिषद्‍मा प्रस्तावनै नआएको एक मन्त्रीले जानकारी दिएका छन । उनले पार्टिले नै उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा सिफारिस गर्ने निर्णय गरेको हुदाँ अब प्रधानमन्त्रीले नै सिफारिस गर्ने बताए ।