धनगढी,जेठ २८ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा शुक्रबार थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७३ नमूना परीक्षण गर्दा १ सय जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका १२ जना, धनगढीबाहेक कैलालीका ५४ जना र अन्य जिल्लाका ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा हाल १९ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये ४ जना आइसियूमा, १० जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने ४ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ३ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचारको क्रममा १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।


