कांग्रेस कैलाली सभापतिको मतदान फेरी सर्‍यो

Spread the love

धनगढी : नेपाली कांग्रेस कैलाली सभापतिको मतदान फेरी सरेको छ । कांग्रेस कैलाली जिल्ला सभापतिका लागि बुधबार तोकिएको मतदान पुनः सरेको हो।

निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले सभापति पदका प्रतिस्पर्धी प्रकाश बम र नारायणदत्त भट्टको आपसी सहमतिमा मतदान कार्यक्रम बिहीबार सारिएको जानकारी दिएका हुन । निर्वाचन अधिकृत सुवेदीका अनुसार बिहीबार बिहान सवा ८ बजेदेखि पुुनःमतदान हुनेछ ।

पहिरो चरणमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार प्रकाश बम (११६९) र अर्का उम्मेदवार नारायणदत्त भट्ट (१०७२)बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको छ ।

अर्का उम्मेदवार रामबहादुर कलेल (१९७) भने पहिलो चरणमै प्रतिस्पर्धाबाट बाहिरिएका छन् । कलेलले शेखर कोइराला पक्षबाट उम्मेदवारी दिएका थिए । बम र भट्ट भने संस्थापन पक्षका उम्मेदवार हुन् ।

गत आइतबार भएको मतदानको मत परिणाम अनुसार सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मतदान दोस्रो चरणमा गएको हो ।

दोस्रो चरणका मतदान हुने भएसंगै अब पहिलो चरणको मतगणनामा तेस्रो भएका इतर पक्षका रामबहादुर कलेलको भूमीका महत्वपूर्ण देखिएको छ । कलेल नै निर्णायक बनेका छन् अब उनले सघाउने उम्मेदवार विजयी हुनेछन् ।

संस्थापन इतर पक्षको भोट निर्णायक हुने भएपछि सभापतिका उम्मेदवार पक्षहरु संस्थापनको साथको लागि कसरत गर्न थालेका छन् । दुवै उम्मेदवारले सहयोग गर्नका लागि आग्रह गरिरहेको संस्थापन इतर पक्षका नेता भक्त चलाउनेले बताए ।

‘हाम्रो पक्षको भोट निर्णाय बन्ने भएपछि दुवै उम्मेदवारले सम्पर्क गरेर सहयोग गर्न आग्रह गरिरहनु भएको छ । बरु, के कुरामा मिलाउनुपर्छ, हामी मिलाउँछौं भनिरहनु भएको छ’, उनले भने । ‘हामी छलफल गरिरहेका छौं । अधिकतम् सहमति भएका उम्मेदवारलाई सहयोग गर्छौ।’

सभापतिका उम्मेदबार बमलाई नेपाली काङ्ग्रेस कैलालीका निवर्तमान सभापति नरनारयाण शाह ‘मनु’ को समर्थन रहेको जनाइएको छ । यस्तै, भट्टसहित उनको प्यानललाई धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, इश्वरी न्यौपाने, जीवन राना लगायतका केन्द्रीय सदस्यहरुको समर्थन रहेको छ ।

धेरै जसोले भट्टको पक्षमा नेता र बमको पक्षमा कार्यकर्ता रहेको टिप्पणी गरेका छन् । उनीहरुले कार्यकर्ताले पत्याएका बमको जित लगभग सुनिश्चित रहेको बताएका छन् । 

बम निरन्तर ४ कार्यकालदेखी नेपाली कांग्रेस कैलालीको नेतृत्वमा छन् । कैलालीमा उनी शालिन, भद्र, सबैको पहुँच पुग्नसक्ने नेता, कार्यकर्ताको भावनानुसार चल्नसक्ने नेतृत्वको छवि बनाएका छन् । 

२०१५ सालमा डोटीको बर्छेन गाउँपञ्चायत ४ (हालको बड्डिकेदार) जन्मेका बम हाल कैलालीको गौरीगंगा नगरपालिका– २ चौमालामा बस्दै आएका छन् । २०३६ सालदेखि काङ्ग्रेसी राजनीतिमा प्रभावित उनी २०४२ मा काङ्ग्रेसकै उम्मेदवारका रुपमा चुनाव जितेका थिए ।

यसैगरी, अर्का उम्मेदवार भट्ट जनआन्दोलनका घाइते हुन । उनी, जिल्लामा उपसभापति भएर काम गरिसकेका छन् । भट्टलाई धेरै जसो नेताहरुको समर्थन रहेको छ ।