काठमाडौँ, वैशाख १४ (ई-रैवार)
सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिने र यसअघि बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन गरेको हो ।
मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले मंगलबार अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।
यस्तै कार्यरत जनशक्ति मध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्ने निर्णय पनि भएको छ । कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न, थप जनशक्ति चाहिए ६ महिनाका लागि करारमा लिन पनि निर्देशन दिएको छ ।
सरकारले स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली पनि लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारिण गरी सेवा दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
उपलब्ध स्वास्थ्य श्यैया, जनशक्ति, कोभिड–१९ संक्रमित बिरामीहरुको संखया आदिका आधारमा अस्पतालले बहिरंग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ ।
अस्पतालहरुलाई पठाएको पत्रमा सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक औजार उपकरण र अक्सिजनको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


