सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण

सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण
Spread the love

 

धनगढी, भदौ ९  (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा २ प्रतिशत जनसंख्यामा मात्रै कोरोनाको परीक्षण गरीएको छ । सुदूरपश्चिम प्रदेशमा गएको ५ महिनामा पीसीआर पद्धतिबाट कूल जनसंख्याको २.१ प्रतिशत मात्रै कोरोनाको नमुना जाँच गरिएको हो ।

सुदूरपश्चिम प्रदेशमा जाँच गरिएका नमुनामध्ये सोमबारसम्म ५ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५३ हजार ७ सय ४९ जनाको पीसीआर पद्धतिबाट कोरोना भाइरसको नमुना परीक्षण भएको छ । प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ रहेको छ ।

पहिलो पटक गत चैत दोस्रो हप्तामा सुदूरपश्चिम प्रदेशमा कोरोनाका संक्रमित फेला परेसँगै कोरोनाको नमुना संकलन र परीक्षणको दायरा बढाउनु पर्ने माग सबैतिर उठ्दै आएको थियो ।

संक्रमित फेला परेसँगै पीसीआर र आरडीटी पद्धतिबाट शंकस्पद व्यक्तिको नमुना संकलन गरी जाँचको कार्य सुरु गरिएको थियो । पीसीआर पद्धतिको तुलनामा त्यति भरपर्दो नदेखिएको आरडीटी पद्धतिबाट भने १ लाख २४ हजार ६ सय ९० जनाको नमुना जाँच गरिएको छ ।

स्वास्थ्य सेवा निर्देशनालय दिपायलको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा बढी कैलालीमा १ हजार ५ सय ८४ संक्रमित पुगेका छन् । यस्तै डोटीमा ८ सय ५०, अछाममा ८ सय ३६, कञ्चनपुरमा ६ सय ४१, बाजुरामा ४ सय ५२, बैतडीमा ३ सय ३१, डडेलधुरामा ३ सय १२, बझाङमा २ सय ८८ र दार्चुलामा ४४ संक्रमित पुगेका छन् ।

हालसम्म कोरोनाका कारण कैलालीमा४, बझाङ र बाजुरामा २–२ तथा अछाममा १ गरी नौ जनाको मृत्यु भइसकेको छ । देशका अन्य प्रदेशमा कोरोना संक्रमितको मृत्यु दर बढ्दै जाँदा सुदूरपश्चिम प्रदेशमा भने मृत्यु दर पछिल्लो एक महिनायता स्थिर देखिएको छ ।

निर्देशनालयको तथ्यांक अनुसार गएको साउन १३ गतेसम्म कोरोनाका कारण मृत्यु हुने नौ जना पुगेकोमा त्यस यता कसैको मृत्यु भएको छैन । कोरोनाको संक्रमण दर भने निरन्तर बढ्दो छ । सोमबारसम्म कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा ४ हजार ४ सय पुगेका छन् । यो संख्या कुल संक्रमितको झण्डै ८४ प्रतिशत हो ।