काठमाडौँ, जेठ २३ (ई-रैवार)
चौतर्फी आलोचना भएपछि अन्तत: राष्ट्रिय जनता पार्टी (राजपा) का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्ति सच्याएका छन् । महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् ।
शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् । मन्त्री भएपछि कार्यभार समाल्ने क्रममा र शनिबार पनि एक कार्यक्रममा महतोले आफू बहुल राष्ट्रिय राज्यको अभियानमा रहेको बताएका थिए ।
महतोले संविधानमा आफूहरूका असन्तुष्टि रहेकोले संशोधनका लागि कार्यदलमा आफ्ना धारणा राख्ने पनि प्रष्ट पारेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘म राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिवद्ध रहेको छु । यसबारेमा कसैलाई अन्यथा भ्रम नरहोस् भन्ने म प्रष्ट पार्न चाहन्छु,।’
‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ’, यसअघिको आफ्नो अभिव्यक्ति सच्याउँदै महतोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महतोको भनाइपछि यसको चौतर्फी आलोचना र विरोध भएको थियो । एमालेको नेपाल-खनाल समूहले उनको भनाइबारे प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरेको थियो भने उसको विद्यार्थी संगठनले महतोको पुत्ला दहन गरेको थियो ।



