एजेन्सी, साउन २५ (ई-रैवार)
श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले आफ्ना दाइ महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीको सपथ खुवाएका छन् । पूर्वराष्ट्रपति समेत रहेका ७४ वर्षीय राजापाक्षेले आइतबार एक बौद्ध मन्दिरमा प्रधानमन्त्रीको सपथ ग्रहण गरेका हुन् ।
गत बुधबार भएको संसदीय चुनावमा सत्तारूढ दल श्रीलंका पिपुल्स पार्टीले झन्डै दुई तिहाइ मत हासिल गरेको थियो । निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मत परिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक्लैले २ सय २५ मध्ये १ सय ४५ सिट हासिल गरेको हो। साथै उनीहरूको गठबन्धनमा रहेको दलले थप पाँच सिट जितेका छन् ।
जुलाइमा प्रधानमन्त्री महिन्दा राजापाक्षेले संसदीय राजनितिमा प्रवेश गरेको ५० वर्ष पूरा गरेका थिए । २४ वर्षीय हुदाँ सन् १९७० मा उनी सासंद बनेका थिए । उनी दुई पटक राष्ट्रपति र तीन पटक श्रीलंकाका प्रधानमन्त्री भएका छन् ।
गत नोभेम्बरमा राष्ट्रपति निर्वाचित भएपछि गोटवायाले महिन्दालाई प्रधानमन्त्री बनाएका थिए । कोरोना भाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो । बुधबारको मतदानमा ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ ।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए । राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए ।
संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिना अघि नै संसदीय चुनाव घोषणा गरेका थिए। कोरोना भाइरसका कारण चुनाव दुई पटक सरेको थियो ।
श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ । सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए । पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए ।
राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा लोकप्रिय छ। सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ ।


