काठमाडौं : नेकपा माओवादी केन्द्रले पदाधिकारी १५ सदस्यीय रहने प्रस्ताव गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरेको हो ।
माओवादी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको आज बसेको बैठकले पारित गरेको विधान अनुसार एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव र ३ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने गरी विधान परिमार्जनको प्रस्ताव महाधिवेशनमा जाने बताएका छन् ।
एमालेसँग एकीकरण पूर्व माओवादीले बहुपदीय संगठनात्मक प्रणालीलाई अपनाउँदै आएको थियो । तर एमालेसँगको एकता भंग भएपछि भने माओवादीमा अध्यक्ष मात्रै सक्रिय रहेका थिए । वरिष्ठ उपाध्यक्ष र उप महासचिवको व्यवस्था भने माओवादीले पहिलो पटक गर्न लागेको हो ।
यसअघि प्रथम सम्मेलन गर्ने तयारी गरेको माओवादीले त्यसलाई महाधिवेशनमा रुपान्तरण गरेको छ । स्थायी कमिटी बैठकको प्रस्तावलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
आइतबारबाट सुरु हुने आठौं महाधिवेशनमा नीति पारित गर्ने र अध्यक्ष बाहेक अन्य पदाधिकारीको चयन नहुने यसअघि जनाइसकेको छ। अध्यक्ष बाहेक अन्य पदाधिकारीहरुलाई केन्द्रीय कमिटीले चुन्ने व्यवस्था छ ।
महाधिवेशनको आज दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन हुँदैछ । महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन् । मनोनीत सहित प्रतनिधि १६०० को हाराहारिमा रहेका छन् ।


