धनगढी, साउन १५ (ई-रैवार)
नेपालमा बिहीबार थप २ सय ७४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २ सय ७४ जनामा संक्रमण भएको हो ।
बिहीबार डिस्चार्ज हुनेको संख्या २ सय २७ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ रहेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् ।
सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा सात, डडेल्धुरा अस्पतालमा दुई र भेरी अस्पतालमा एक गरी आज थप १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।
डडेल्धुरामा भएको परीक्षणमा डडेल्धुराकै दुई जना र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा कञ्चनपुरका एक जनाा संक्रमण पुष्टि भएको छ । डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय ५० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ११ का ३७, ४५, ४६ र ४८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए । उनका अनुुसार धनगढी उप–महानगरपालिका वडा नम्वर १ का २६ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १९ बर्षीय पुरुष र दार्चुलाकी २२ बर्षीया युवतीमा पनि कोरोना पुष्टि भएको छ । आज १० जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार चार सय ११ पुगेको छ। संक्रमण पुष्टि भएका दुई हजार तीन सय ७३ जना डिस्चार्ज भएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।
अन्य संक्रमित भने विभिन्न अस्पताल, स्थानीय तहको आईसोलेस र घरमा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार २४ जनामा संक्रमण पुष्टि भएको छ।


