सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित

Spread the love

काठमाडौँ : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक स्थगित भएको छ ।​ सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बोलाइएको बैठक स्थगित भएको हो ।

स्थानीय तहको निर्वाचनको मिति तय लगायतका बिषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो । तर तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो ।

यसअघि गत मंगलबार बसेको समितिको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेका थिए । त्यसबारे थप गृहकार्य गरेर आज बैठक बस्ने भनिएको थियो । बैठकमा स्थानीय तहको चुनाव अगाडि गर्ने कि प्रतिनिधिसभाको भन्ने विषयमा एकमत नभएपछि बैठक स्थगित भएको स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राखेका छन् भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाको निर्वाचन अगाडि गर्नुपर्ने पक्षमा छन् ।

मंगलबारको समन्वय समिति बैठकले यस विषयमा एक मत निर्माण गर्न बुधबार शीर्ष नेताहरुलाई छलफल गर्ने भनेको थियो । तर यो बीचमा शीर्ष पाँच नेताबीच छलफल समेत हुन सकेन । तर आज प्रधानमन्त्रीको व्यस्तता देखाएर बालुवाटारले बैठक स्थगित गरेको छ ।

समिति संयोजक रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जवी अधिकारीले प्रधानमन्त्रीको व्यवस्तताका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् । आजको बैठकमा निर्वाचन ऐन संशोधन, तीन तहका निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो ।