धनगढी असार २४(ई-रैवार)
दुधको साक्षी बिरालो !
यही उखानले दिन खोजेको सन्देशजस्तै अवस्था वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको फँडानीको अनुगमनमा निस्किएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति अन्तर्गत बनेको उपसमितिको हर्कतले दर्शाएको छ ।
भएको छ पनि त्यस्तै ! टोलीमा वनसंग जोडिएर विवादित छवी भएका सांसद सदस्य तथा उनको हर्कत र टोलीसंगै भ्रमण गरेका केही विवादित ‘चेहरा’हरुको उपस्थितीले सो उखान चरितार्थ गरेको देखिन्छ ।
यसरी आयो संसदीय उपसमिति
देशका विभिन्न जिल्लाहरुमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा व्यापक वन फँडनी भएको खबरहरु सार्वजनिक भए । त्यसपछि सरकारले जेठ १५ गतको मन्त्रीपरिषद्को निर्णयले तत्काल वैज्ञानिक वन व्यवस्थापनका नाममा भईरहेको फँडानीसंग संलग्न सबै प्रक्रिया रोक्न निर्देशन दियो । यद्यपी सुदूरपश्चिमका कैलाली र कञ्चनपुर सहित देशव्यापी भईरहेका फँडानीहरु रोकिएनन् ।
त्यसपछि केहीदिनअघि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले समाजवादी पार्टीका सांसद प्रदीप यादवको नेतृत्वमा नेकपाका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद मीना सुब्बा सदस्य रहेको उपसमिति बनाएर अनुगमनको जिम्मा दियो ।
उपसमितीले सुदूरपश्चिमको कैलाली,कञ्चनपुर लगायतका देशभरका अन्य जिल्लामा अनुगमन गरेर अध्ययन प्रतिवेदन लेखा समितिमार्फत सरकारलाई बुझाउने जनाईएको छ ।
टोलीमा तीनजना सांसदबाहेक प्राबिधिक जनशक्तीका रुपमा सार्वजनिक लेखा समितिकै उपसचिव प्रदीप नेपाल, नायब सुब्बा रामप्रसाद सापकोटा र विज्ञका रुपमा डीलराज खनाल र सुवासचन्द्र देवकोटा समाबेश छन् ।
सो टोली सोमबार सुदूरपश्चिम प्रवेश ग–यो । टोलीमा तीनजना सांसद र चारजना प्राबिधिक कर्मचारी र विज्ञहरु भनिएपनि अन्य यस्ता ‘चेहरा’ देखिए, जो पहिल्यैदेखी वनक्षेत्रका विवादित नामहरु हुन् ।
सदस्य सांसद नै विवादित
डोटीबाट प्रतिनिधी सभामा निर्वाचित सांसद प्रेम आले वनक्षेत्रमा पहिल्यैदेखी चर्चित नाम हो । उनै संसदीय उपसमितिको सदस्य भएर आएका छन् ।
जनस्तरमा उनले काठको दलाली गरेर ठुलो रकम कमाएको चर्चा हुन्छ । डोटीमा आलेको घर भएको क्षेत्र जोरायल गाउँपालिका र बडीकेदार गाउँपालिकामा लगभग दुई दशकभन्दा बढी समयदेखी साल र सल्लाको काठको तस्करी हुँदैआएको छ । कुनै समय आफै त्यसको व्यवसायमा संलग्न आलेमगर पछिल्लो समय पनि काठका व्यवसायीहरुको सेटिङमा सरकारी संयन्त्र प्रयोग गरेर सम्पत्ती आर्जन गन कार्यमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।
यसैले उनको यो क्षेत्रमा विशेष दक्षता छ । यही कारण उनको भित्रि ईच्छा वनमन्त्री हुने झल्किने गर्दछ । वेलावेला उनी आफै आफ्ना निकटस्थहरुलाई वन मन्त्री हुनलागेको हल्ला फिँजाउछन् ।
यतिबेला उनै आले विबिध स्वार्थका रणनीति बोकेर संसदीय उपसमितिमा आएको स्रोत दाबी गर्छ । ‘उनको रणनीति भनेकै धम्क्याउने, गलाउने र अशुल्ने हुन्छ,’ स्रोत भन्छ,‘उनी यतिबेला पनि त्यही गर्छन् । यो मौकालाई उनी भरपूर उपयोग गर्न पछि पर्ने छैनन् ।’
आलेको सामन्ती हुंकार
एकसमय समाज सामन्तको दबदबा थियो । जसले आफ्नो समदायमा रहेका कमजोर वर्ग, समुदायहरुले मिठोमसिनो खाएर, राम्रो लाएको हेर्न सक्दैनथे । यतिसम्म की’ निर्धाले शीर उठाएर हिडेको समेत सह्य हुदैनथ्यो । यस्तो गरेको भेटिए सामन्तले चरम यातना दिन्थे ।
यस्तै सामन्त सम्झाउने सांसद आलेको वाणी यतिबेला समाचार सामाग्री र सामाजिक सञ्जालमा भाईरल बनेको छ ।
उनले कैलालीको एउटा सामुदायिक वनका अध्यक्षलाई पुरै सामन्ती शैलीमा हप्काएको दृश्य छ त्यसमा । दृश्यमा उनले ‘म को हुँ चिन्छस । के मुखमा हेरेको टाउको तल गर । त साले बढ्ता कुरा गर्छस । हामी माननीय हुँ । के मुखमा हेरेर कुरा गर्ने । त को होस’ भनेर बोलेका छन् ।
उनी कैलाली र कञ्चनपुरको पुरै भ्रमणका क्रममा यसरी नै प्रस्तुत भएको टोलीमा रहेका एकजनाले बताए । ‘पुरै सामन्तबादको झल्को देखिन्थ्यो । त्यो देख्दा खुबै वनप्रेमी देखिन्थे,’ टोलीसंगै घुमेका ती व्यक्ती भन्छन्,‘तर उनको वास्तविक चेहरा सबैले देखेकै कुरा हो । आफ्ना निकटस्थसंग खुसुरपुसुर लागिरहन्थे ।’
कैलालीको जानकी गाउँपालिका–८को ऐश्वर्य सामुदायिक वनका अध्यक्ष केशव शाहीले सांसद आलेले पुरै उपभोक्तालाई अपमानजनक व्यवहार दर्शाएको बताए । ‘गल्ति भए कारबाही गर्नुपर्छ । भोग्छौ,’ उनले भने,‘तर जुन व्यवहार देखाउनुभयो । त्यसले सांसदको रुप देखिएन् ।’ महिलाहरुलाई समेत होच्याएर ‘खल्तीमा हात किन हालेको, तल झार’ भन्ने शब्द प्रयोग गरेर अपमानित गरेको उनले बताए ।
आलेको सो रवैयाका विषयमा संसदीय उपसमितिका संयोजक सांसद यादवले अञ्जान वनेको दर्शाए । ‘ए त्यो भएको छ र ? त्यसो सार्वजनिक भएको छ र ?’, अनभिज्ञजस्तो बन्दै उनले भने,‘त्यसोभए म हेरेपछि त्यो विषयमा बोलौला नि त ।’
निलम्बित सहायक वन अधिकृत पनि सहभागि
गतवर्षको साउन २६ गते डोटीको वीपीनगर सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सुरेशचन्द्र डिसी डडेल्धुराको भात्काँडामा घुस रकम सहित समातिए । अख्तियारको टोलीले उनलाई तीनलाख २६ हजार घुस रकम सहित समातिएका थिए । ठेकेदारलाई काठ मिलाइदिने भन्दै ठेकेदारबाट उनले त्यो घुस लिएको अख्तियारले जनाउछ । त्यसपछि अख्तियारले उनलाई निलम्वन गरेको छ भने विशेष अदानलतमा मुद्दा चलिरहेको छ ।

उनै डिसी संसदीय समितिको अनुगमनका क्रममा देखिए । प्रत्यक्षदर्शीका अनुसार उनी फिता लिएर रुखको नापतौल लिईरहेका थिए । उनले संसदीय टोलीसंगै कैलाली र कञ्चनपुर भ्रमण गरे ।
उनलाई आफुले नचिनेको र उनको बारेमा आफुलाई थाहा समेत नरहेको संसदीय उपसमितिका संयोजक सांसद यादबले बताए । उनले भने, ‘उनीबारे मलाई थाहा छैन् । कहाँबाट किन आए ? मलाई थाहा भएन् ।’
डिसीको घर दाङ हो । उनलाई सांसद आलेले बोलाएको स्रोतको दाबी छ । ‘आलेको डिसीसंग पुरानै राम्रो सम्बन्ध हो । आलेसंग व्यक्तिगत सम्बन्ध राम्रो भएका कारण उनी धेरै समय बुडर र वीपीनगर बसे,’ स्रोत भन्छ,‘सेटिङका लागि माहिर मानिने डिसीलाई त्यसै कामका लागि आलेद्वारा बोलाईएका हुन् ।’
गुण्डा, तस्कर र विवादित चेहराका लाम
संसदीय समितिको टोलीमा सीमित व्यक्तिहरु आएको भएपनि सुदूरपश्चिमका वनहरुको ठुलै भीड देखियो । जस्तै मानौ ठुलै आमसभा हो ।
सडकमा दर्जनौ गाडीका लस्करहरु देखिए । कुनै चुनावी –यालीजस्तो ।
तर त्यो वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा भएको वन फँडानीको अनुगमन गर्न आएको संसदीय उपसमितिको टोलीसंग हिडेको भीड थियो ।
त्यो भीडमा जुन अनुहार थिए ती भने अधिकांश विवादित थिए । ‘त्यत्रो भीड कताबाट आयो मलाई थाहा भएन । म त टाढाको मान्छे,’ संसदीय उपसमितिका संयोजक यादव भन्छन्,‘हामीले सम्बन्धित स्थानीय तहका जनप्रतिनिधी, त्यो क्षेत्रका वन कर्मचारी र उपभोक्ता बोलाएका हौ ।’ सांसद आले स्थानीय भएकाले उनीमार्फत स्थानीय पत्रकारहरुलाई समेत बोलाउन भनेको उनले बताए ।
त्यो भीडमा नेकपाका कार्यकर्ताहरु, गुण्डागर्दी गरेर अशुली गर्ने, काठ तस्करीमा संलग्न माफिया र अनेक विवादित चेहराको लाम रहेको प्रत्यक्षदर्शीहरु बताउछन् । ‘ती व्यक्तीहरु कसरी आए र किन आए भन्ने प्रष्ट छ,’ स्रोत दाबी गर्छ,‘उनीहरुलाई सांसद आलेले नै बोलाएका हुन् ।’ शक्तिको आडमा धम्क्याएर अशुल्ने रणनीतिका साथ त्यस्तो झुण्ड परिचालित भएको स्रोत बताउछ ।


