काठमाडौं असार, २५ (ई-रैवार)
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाएका छन । गृह मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन ।
सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ । बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन ।
बाबु डीआईजी, छोरो आईजीपी

नेपाल प्रहरीमा चार वर्षपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट महानिरीक्षक (आईजीपी) नियुक्त गरिएको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले बढुवाको दौडमा रहेका शैलेश थापा क्षेत्रीलाई संगठनको २८ औं महानिरीक्षकमा बढुवा गरेको हो ।
यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।
थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन ।
पूर्वडीआईजीका छोरा

आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन । बुबाकै प्रेरणाले थापा प्रहरी संगठनमा प्रवेश गरेका हुन ।
प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा फौजमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन ।
तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका छन ।
राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन ।
सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा –बादल) सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् ।
गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन ।
उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन ।
इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोक, एकडेमी र सचिवालयमा काम गरेका छन । प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड गरेका छन भने एकडेमी र सचिवालयमा पनि बसेका छन ।
प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि उनी कास्की र झापा जिल्ला प्रहरी प्रमुख बने । प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि उनी बोस्निया, इस्ट टिमोर र डार्फर (सुडान) गएका छन ।
निवर्तमान आईजीपी ज्ञवालीजस्तै थापा पनि संगठनमा रहँदा त्यति धेरै चर्चामा आएका अधिकृत होइनन् । थापाको नेतृत्व अहिलेसम्म विवादमा पनि परेको छैन ।
झापामा रहँदा थापाले १५ करोड रुपैयाँ पर्ने जग्गा हडप्न भएको अपहरणमा संलग्न एउटा हाई–प्रोफाइल गिरोहको पटाक्षेप गरेका थिए । जसमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम कार्की) का स्वकीय सचिव राजु आचार्य (अग्नि) समेत संलग्न थिए ।
थापा सामु चुनौतिका चाङ
नवनियुक्त आईजीपी थापासामु चुनौतिका चाङ छन ।
विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेको थियो । तर, यसपालि थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेका छन ।
सरकारले दुईमध्ये जसलाई आईजीपी बनाए पनि स्वीकार गर्ने दुवैले बताएकाले विगतमा जस्तो दुई ब्याचीबीच तिक्ततापूर्ण सम्बन्ध नहुने अपेक्षा गरिएको छ । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ ।
अहिले प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास देखिँदैन । प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने गरेका छन ।
प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन । यस्तो परिस्थितिमा थापाले कसरी संगठन हाक्लान भन्ने निकट भविष्यले बताउनेछ ।
हालका आईजीपी ठाकुर ज्ञवालीकै अनुभव हेर्ने हो भने उनलाई एक तालिम केन्द्रमा सरुवा हुन शक्ति केन्द्रका ५ जना व्यक्तिबाट सिफारिस आए । तर, ज्ञवालीलाई नै भेटेर कसैले पनि त्यहाँ जाने इच्छा व्यक्त गरेनन् ।
यो ज्ञवालीले संगठनको आन्तरिक सम्बोधनमा उल्लेख गरेको उदाहरण हो । त्यसैले नवनियुक्त महानिरीक्षक थापाको सबैभन्दा ठूलो चुनौति संगठनप्रति गुमेको कर्मचारीको विश्वासलाई फर्काउनु हुनेछ ।
सरुवा–बढुवामा अहिले राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप देखिन्छ । यसलाई मुक्त गर्न थापाले सक्लान कि नसक्लान भन्ने पनि चासोको विषय हुनेछ । र, यसको सुरुवात केही समयमै हुने एआईजी बढुवाबाट हुनेछ ।
रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिल्यै एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन ।
महामारीका बीचमा नेतृत्व सम्हालेका थापालाई फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ । कोरोना (कोभिड–१९) का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने थापाकै ब्याजी एआईजी हरिबहादुर पाल नेतृत्वको अपराध अनुसन्धान विभागको निष्कर्ष छ ।
यो अवधिमा चोरी, डकैती, हत्या, घरेलु तथा महिला तथा बालबालिकासम्बन्धी हिंसा, आर्थिक अपराध लगायत हुनसक्ने विभागको रिपोर्ट छ । तीसँगै अहिले प्रविधि जोडिएका अपराध पनि बढी रहेको अवकाशप्राप्त डीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन ।
प्रहरीमा नेतृत्व परिवर्तन हुँदै पिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने चलन छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेका छन । त्यसैले थापाले कस्तो रणनीति, प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि महत्वपूर्ण हुने ठकुरी बताउँछन ।
अहिले नेपाली प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा थापासामू समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि छ । ुसंगठन संक्रमणकालीन अवस्थामा रहेका वेला संघीय संरचनामा सही ढंगले लैजानु पर्ने उहाँको चनौति हो’, अवकाश प्राप्त डीआईजी पिताम्बर अधिकारी भन्छन । अनलाइन खबरबाट


