नौ महिनामा व्यापार घाटा १२ खर्ब ६७ अर्ब

नौ महिनामा व्यापार घाटा १२ खर्ब ६७ अर्ब
Spread the love

काठमाडौं बैशाख। आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ११ खर्ब २१ अर्ब रुपैयाँ थियो।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चैत्रसम्म नेपालको कुल व्यापार घाटा १३.०४ प्रतिशतले बढेको छ। आयातको तुलनामा निर्यातको आकार अझै निकै सानो रहेको छ।

गत आर्थिक वर्षको नौ महिनाको तुलनामा यस वर्ष निर्यातमा उत्साहजनक वृद्धि देखिएको छ। यस अवधिमा नेपालको निर्यात व्यापार १८.४६ प्रतिशतले बढेर २ खर्ब २२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ थियो।

आयात व्यापार पनि १३.८२ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ४९ करोड ८८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको नौ महिनामा १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।

आयातको तुलनामा निर्यातको वृद्धिदर बढी रहेकाले आयात–निर्यात अनुपातमा ३.९२ प्रतिशतले सुधार आएको छ। यो अनुपात ६.६९ मा झरेको छ। अर्थात् गत वर्ष ६.९६ रुपैयाँको आयात हुँदा १ रुपैयाँको निर्यात हुने गरेकामा यस वर्ष उक्त अनुपात केही सुधारिएको हो।

यो अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.४० प्रतिशतले बढेर १७ खर्ब १३ अर्ब ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढेर १३.०१ प्रतिशत पुगेको छ भने आयातको हिस्सा घटेर ८६.९९ प्रतिशतमा सीमित भएको छ।

भन्सार विभागको तथ्यांकले नेपालको वैदेशिक व्यापारको आकार विस्तार हुँदै गएको र निर्यात हिस्सामा क्रमिक सुधार देखिएको संकेत गरेको छ। तर, ठूलो व्यापार घाटा अझै अर्थतन्त्रको प्रमुख चुनौतीका रूपमा कायम छ।