धनगढी, साउन ८ (ई-रैवार)
धनगढीमा कोरोना संक्रमित महिलाहरुलागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको छ ।
धनगढी उप–महानगरपालिले बिहीबार देखि वडा नं १ मा रहेको बि। पोलिटेक्नीकमा कोरोना संक्रमित महिलाहरु र उपचार गर्न आएका तर अप्ठेरो अवस्थामा रहेका महिलाहरु राख्नका लागि नमुना महिला होल्डिङ्ग आईसोलेशन स्थापना गरिएको हो ।
होल्डिङ्ग र आईसोलेशनको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वड र प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उद्घाटन गरेका हुन । जसमा आईसोलेशन तर्फ १० वटा बेड रहेका छन् भने होल्डिङ्गका लागि १२ वटा बेड रहेका छन् ।
नगरप्रमुख वडका अनुसार सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचार गर्न धनगढीमा आएका र अप्ठेरो अवस्थामा रहेका गर्भवती, सुत्केरीहरुलाई होल्डिङ्ग सेन्टरमा राखेर उपचार गरिने छ । त्यहाँ कुरुवा, केटाकेटीहरुका हेरचाह गर्ने ब्यक्तिलाई राख्ने ब्यबस्था पनि गरिएको छ । त्यसैगरी आईसोलेशन सेन्टरमा धनगढी उप–महानगरपालिका क्षेत्र भित्रका कोरोना संक्रमित, संक्रमित भएका तर लक्षण नदेखिएकाहरुलाई राखेर उपचार गरिने ब्यबस्था गरिएको नगरप्रमुख वडले बताए ।
महिला होल्डीङ्ग आईसोलेशन सेन्टरमा चौबिसै घण्टा स्वास्थ्यकर्मी, एम्बुलेन्सको ब्यबस्था पनि गरिएको छ नगरप्रमुख वडले भने, लम्कीचुहा नगरपालिकामा क्वारेन्टीनमा बसेकी महिला माथी यौन दुब्यावहार भएको घटना आएकाले पनि यहाँ महिला सुरक्षाकर्मीको ब्यबस्था गरिएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढीमा स्थापना गरिएको महिला होल्डीङ्ग र आईसोलेशन देशकै नमुना भएको बताए । उनले भने, यो प्रदेश अन्य प्रदेश भन्दा कोरोनाको बढी जोखिममा भएकाले पनि आईसोलेशन आवश्यक हो ।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले महिलाका लागि छुट्टै क्वारेन्टिन स्थापना गर्ने पनि धनगढी उप–महानगरपालिका नै भएको बताईन । महिलाका लागि नमुना होल्डीङ्ग आईसोलेशन सेन्टर निर्माण गरेर राम्रो अभ्यासको थालनी गरेका छौं , उनले भनिन् – यसले राम्रो नतीजा दिने आशा गरेका छौं ।
धनगढी उप–महानगरपालिकाले स्थापना गरेको महिला होल्डीङ्ग र आईसोलेशनमा धनगढीमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था, नीजि क्षेत्रको सहकार्य रहेको छ । धनगढी उप–महानगरपालिकाले यस अघि नै वडा नं १५ मा ५३ वेडको आईसोलेशन पनि संचालनमा ल्याई सकेको छ ।


