भैरहवा असोज । रुपन्देहीको रोहिणी गाउँपालिकाले अस्थायी र करार सेवा सम्झौता रद्द गरेको छ । गाउँपालिका तथा मातहत सबै कार्यालयहरुमा विभिन्न मितिमा स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति भएका, करार सेवा तथा दैनिक ज्यालादारीमा कार्यरत अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यकबाहेक सम्पूर्ण कर्मचारीहरुको नियुक्ति तथा करार सम्झौता रद्द गरिएको हो । असोज २२ गते बुधबारदेखि लागू हुने गरी सम्झौता रद्द गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतद्वारा जारी सूचनामा उल्लेख छ ।अनुउत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट असोज ५ गते भएको नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेक अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने भन्ने निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयको परिपत्र बमोजिम निर्णय गरिएको हो, ’सूचनामा भनिएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा अस्थायी र करार सेवा सम्झौता रद्द
