कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता

कैलाश खोला बाढीमा हराएका थप एकको शव फेला, १० जना अझै बेपत्ता
Spread the love

 

अछाम, ७ भदौ (ई-रैवार)

कैलाश खोला बाढीमा बगेर बेपत्ता भएका ११ जना मध्ये एक जनाको शव आइतबार बिहान फेला परेको छ । अछामको रामारोशन गाँउपालिका–५ र ६ जोड्ने झोलुंगे पुलमा शव भेटिएको प्रहरीले जनाएको छ ।

भेटिएको शव रामारोशन गाँउपालिका वडा नं। ५ का नन्दु साउँदका छोरा १९ बर्षीय रुपेश साँउद भएको प्रहरीले जनाएको छ । फेला परेको शव सनाखत भई मृतकका ठूलो वुवा अम्मर साउँदले बुझेको रामारोशन गाँउपालिका–५ का वडा अध्यक्ष लक्ष्मण दमाईले बताए ।

उक्त शव स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएको स्थलमा प्रहरी पुगेर पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए ।

रामारोशन गाँउपालिका अन्र्तगत कैलाश खोलामा बाढी आउदा १७ जना बेपत्ता भएका थिए जसमध्ये ६ जनाको शव यसअघि नै फेला परिसकेको थियो । १० जनाको शव अझै पत्ता लाग्न सकेको छैन । कैलाश खोला बाढी पहिरोले रामारोशनको सैनीबजारका २२ घरसहित धनजनको क्षति गरेको थियो ।