काठमाडौं : बिहीबार रातिदेखि लगातार परेको वर्षाका कारण देभरको जनजीवन प्रभावित भएको छ। हिमपात र वर्षा गराउने मौसम प्रणाली पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालमा आज पनि वर्षा र हिमपात हुने क्रम जारी छ।
बिहीबार रातिदेखि सक्रिय भएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शनिबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। यसकै प्रभावले अहिले पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
मौसमविद् मानन्धरका अनुसार यो प्रणाली क्रमिक रुपमा कमजोर हुँदै गएकाले दिउँसोपछि पानी र हिउँ पर्न कम हुँदै जानेछ।आज राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेर देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार दिउँसो देशभर मौसम आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ भने राति प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
यस्तै सोमबार दिउँसो प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका मध्य तथा पश्चिमी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा भने हल्का हिमपात हुने सम्भावना छ।
त्यस दिन राति प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। देशका पूर्वी भेगका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको जानकारी महाशाखाले दिएको छ।
शुक्रबार कहाँ कति पानी पर्यो ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको विवरणमा काठमाडौँमा शुक्रबार ४१ मिलिमिटर वर्षा भएको छ। बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ। फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ।
काठमाडौँ उपत्यकामा शुक्रबार दिनभर घाम नदेखिएकाले निकै जाडो भएको थियो। शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ९ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस थियो।
शुक्रबार सबैभन्दा बढी नेपालगन्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ।


