काठमाडौं, जेठ २९ (ई-रैवार)
नेपालमा यो वर्षको मनसुन भित्रिएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको हो ।
मनसुन भित्रिएसँगै मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शुक्रबार बिहान नेपालको पूर्वी भेग हुँदै मनसुन भित्रिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ। आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना छ। महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिनमार्फत आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
महाशाखाका अनुसार अहिले देशको पूर्वी र मध्यभूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको र सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन समेत अनुरोध गरेको छ। नेपालमा सामान्यतया मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ। दक्षिण एशियाली जलवायु दुष्टिकोण मञ्च (एसएएससिओएफ) ले आगामी मनसुन अवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरेको छ।
आज दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भने ‘भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो क्रम आइतबारसम्म कायम रहने भएकाले सतर्क रहन महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


