धनगढी माघ २१ (ई-रैवार)
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धान गर्न तालिमप्राप्त कुकुर खटाईने भएको छ । धनगढीबाट कुकूरसहितको टोली पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने बताए ।
वडाध्यक्ष धामीको शव मृतअवस्थामा मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । उनको अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ ।
मृत फेला परेका वडा अध्यक्ष धामीको हत्या गरिएको पञ्च देवल विनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले बताइन् । उपमेयर चलाउनेले बर्बर ढङ्गले हत्या गरिएको भन्दै घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने बताइन् । ‘गाईबस्तु बाँध्ने गोठमा रगताम्य अवस्थामा शव फालिएको छ’ उनले भनिन्, ‘अन्यत्रै हत्या गरेर यहाँ फालिएको हामीले अनुमान गरेका छौँ । यसमा जो सुकै संलग्न भएपछि तत्काल पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’
शिक्षक पेसाबाट राजीनामा गरी नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित धामीको मृत्यु छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीलाई समेत ल्याउन पहल भइरहेको उनले जानकारी दिइन् । अहिले पनि वडा अध्यक्षको शव घटनास्थलमै रहेको छ ।
घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको हुँदा अहिले नै केही भन्न नमिल्ने अछामका प्रहरी प्रमुख भारती बताउँछन् । पञ्च देवल विनायक नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिनको माग गरेको छ ।


