काठमाडौं : कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । नेतृत्वविहीन अवधिमा अदालत कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफलका लागि कामु प्रधानन्यायाधीश कार्कीले फुल कोर्ट (पूर्ण बैठक) बोलाएका हुन् ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाइएको हो ।
बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ ।
न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
चार महिनाअघि गएको कात्तिक ८ गते नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा मागेको थियो । तर, प्रधानन्यायाधीशले राजीनामा नदिएपछि बारले आन्दोलन थालेको थियो ।
राजीनामा मागेकै दिनदेखि प्रधानन्यायाधीशको नेतृत्व स्वीकार गर्न सर्वोच्चका न्यायाधीशहरूले पनि तयार नभएको संकेत दिएका थिए । तर, प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट आएको र संवैधानिक प्रक्रियाबाट मात्र बिदा हुने भन्दै महाअभियोग लगाउन चुनौती दिँदै सर्वोच्चको नेतृत्वमै बसेका थिए ।
प्रधानमन्त्रीसहित प्रमु्ख दलका नेताले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्दा समेत महाअभियोग लगाउन चुनौती दिँदै बसेका प्रधानन्यायाधीश सर्वोच्चको नेतृत्व भने कामचलाउको रूपमा मात्रै थिए । उनले इजलासमा नबसी प्रशासनिक नेतृत्व गरिरहेका थिए ।
आइतबार संघीय संसद् सचिवालयमा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी औपचारिक रूपमा निलम्बनमा परेका छन् । अब निलम्बन अवधिभर सर्वोच्चको नेतृत्व कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको काँधमा आएको छ ।


