संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ: प्रधानमन्त्री देउवा (सम्बोधनको पूर्णपाठ)

Spread the love

काठमाडौँ, असोज ३ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्।

सातौं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गरेका सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरेका छन्।

साथै उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त पनि गरेका छन्।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ। यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, शुभकामना सन्देशमा उल्लेख छ।

चैतभित्र सबै नेपालीलाई पूर्ण खोप लगाउनु सरकारको मुख्य लक्ष्य

प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहोर्‍याएका छन्।

उनले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रहसमेत गरेका छन्।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाइ छ।

सम्बोधनको पूर्णपाठ :

सम्माननीय राष्‍ट्रपतिज्यू,
सम्माननीय उपराष्‍ट्रपतिज्यू,
सम्माननीय प्रधानन्यायाधीशज्यू,
प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यू,
राष्‍ट्रियसभाका सम्माननीय अध्यक्षज्यू,
माननीय मन्त्रीगण,
सङ्‍घीय संसदका संसदीय समितिका माननीय सभापतिहरु,
संघीय संसदका माननिय सदस्यहरु
संवैधानिक निकायका पदाधिकारीहरु,
विशिष्‍ट अतिथिहरु,
राष्‍ट्रसेवक तथा सञ्‍चारकर्मी मित्रहरु,

संविधान राष्‍ट्रिय दिवसलाई खुशीपूर्वक मनाइरहनु भएका स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु,

१.    नागरिक स्वतन्त्रता र मुलुकको सम्वृद्धिको लागि दशकौ देखि भएका जनआन्दोलन, सशस्त्र विद्रोह, मधेश आन्दोलन समेतको माध्यमबाट भएको अभूतपूर्व राजनैतिक परिवर्तनबाट प्राप्‍त संघीय, लोकतान्त्रिक गणतन्त्र, समावेशीता, मानव अधिकार एवं वैक्तिक स्वतन्त्रता जस्ता उपलब्धीहरुलाई संस्थागत गर्न जननिर्वाचित प्रतिनिधिबाट गठित संविधानसभाबाट निर्माण भएको नेपालको संविधान सातौं वर्षमा प्रवेश गरेको यस राष्‍ट्रिय दिवसमा उपस्थित हुँदा मलाई गौरववोध भएको छ।
२.    मुलुकको अग्रगामी परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात महान आदरणीय शहीदहरु प्रति यस अवसरमा हार्दिक श्रद्धाञ्‍जली अर्पण गर्दछु। यस्ता परिवर्तनका लागि भएका संघर्षहरुमा शारिरीक, भौतिक, आर्थिक, मनोवैज्ञानिक क्षति बेहोर्नुभएका एवं वेपत्ता नागरिकहरुलाई उच्च सम्मानपूर्वक स्मरण गर्दछु।
३.    सातदशक लामो राजनीतिक आन्दोलनका क्रममा परिवर्तनका लागि अग्रपंक्तिमा रही नेतृत्व गर्नुहुने अग्रजहरु तथा समस्त परिवर्तनका पक्षधर नेपाली नागरिक प्रति उच्च सम्मान व्यक्त गर्दछु।

आदरणीय दाजुभाई दिदीबहिनीहरु,
४.    नेपालको संविधानले अमर शहीदहरुको सपना, नागरिकको आकांक्षा र हाम्रो भविष्‍यलाई एकाकार गरेको छ। यस संविधानको सफल कार्यान्वयनबाट मुलुकको सम्वृद्धि र नागरिकको मुहारमा स्थायी खुसी ल्याउने हाम्रो लक्ष्य हो।
५.    विधिको शासनको अपरिहार्य कडी संवैधानिक सर्वोच्चता र त्यसलाई संस्थागत गर्ने संविधान हो। त्यसैले संविधान दिवस एक विशिष्‍ट राष्‍ट्रिय खुशीको दिन हो। यस अवसरमा पनि हामी खुला मनले अधिकआधिक सहभागिताबाट राष्‍ट्रिय उत्सव मनाउन सकेका छैनौं किनकी कोभिड-१९ को महामारीबाट हामी सबै जोगिंदै यस्ता उत्सव मनाउनु पर्ने वाध्यता रहेको छ।
६.    शताब्दीकै कहालीलाग्दो कोभिड-१९ को विश्‍वव्यापी महामारीबाट मानवजाति आक्रान्त बनेको छ। यसबाट नेपाली नागरिकलाई बचाउन सरकार पूर्णरुपले प्रतिवद्ध एवं क्रियाशील रहेको छ।
७.    वर्तमान सरकारको पहिलो प्राथमिकतामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्नु हो। यही असोज महिना भित्र एक तिहाई र यस वर्ष भित्र खोप लगाउनयोग्य सबै नेपालीलाई नि:शुल्क खोपको व्यवस्था गरिनेछ। अग्रस्थानमा खटिने राष्‍ट्रसेवक लगायत सबैलाई व्यक्तिगत स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने र स्वास्थ्य सचेतना बढाउने कार्यक्रमहरु नेपाल सरकारले सञ्‍चालन गरिरहेको छ।

आदरणीय दाजुभाई दिदीबहिनीहरु,
नागरिकको लामो संघर्ष र बलिदानीबाट संविधानसभाबाट निर्मित संविधानको रक्षा र यसको कार्यान्वयनमा हामी प्रतिवद्ध छौं। राजनीतिक परिवर्तन प्रतिको नागरिकको चाहना संविधानबाट संस्थागत भएको छ। यसको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक रुपान्तरण गरी सम्वृद्धिको मार्गतर्फ हामी अघि बढ्नुपर्छ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमसंघीय,  दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संविधानको मूल उदेश्य हो । यस विषयमा निरन्तर ईमान्दारी पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
८.    सङ्‍घीयता कार्यान्वयनलाई समिक्षा गर्दै नागरिकका नजिकका सरकार प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी विभिन्‍न निकायको हस्तान्तरण गरिनेछ। साधनश्रोत र जनशक्तिको समूचित वाडफाड गरिनेछ। संविधानको सफल कार्यान्वयनकालागि आवश्यक कानून बनाईने छन । आपसी संवाद, सहमति र सहकार्य मार्फत गठबन्धन संस्कृतिको विकास गर्दै राष्‍ट्रिय हित, सामाजिक आर्थिक न्याय तथा लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद प्रति प्रतिवद्ध हुँदै सङ्‍घीय शासन प्रणालीको माध्यमबाट न्यायपूर्ण, विभेद रहित सवल एवं समृद्ध नेपालको निर्माण गर्नु वर्तमान सरकारको प्राथमिकता हो।

आदरणीय दाजुभाई दिदीबहिनीहरु,
९.    राजनीतिक प्रणालीलाई थप मजवुत बनाउँदै मुलुकको समुन्‍नतितर्फ आगामी यात्रा तय गर्न आवश्यक छ। नागरिकका अपेक्षा, आकांक्षा, आशा र असन्तुष्‍टिलाई सम्बोधन गर्दै लोकतान्त्रिक माध्यमबाट सबै समस्याको समाधान गर्न हामी प्रतिवद्ध छौं।
१०.    देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनताको जीउधनको सुरक्षा, सुशासन र पारदर्शीता स्वतन्त्र प्रेस प्रतिको हाम्रो प्रतिवद्धता निरन्तर रहनेछ।
११.    अन्त्यमा;     महामारीको जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको रक्षा गर्ने र स्वास्थ्य मापदण्डको पालना गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउनेतर्फ हामी सबै नेपाली अग्रसर हुने शक्ति र प्रेरणा सातौ संविधान दिवसले हामी सबैलाई प्रदान गरोस् भन्‍ने शुभेच्छा प्रकट गर्दछ।
सातौ संविधान दिवस एवं राष्‍ट्रिय दिवसको अवसरमा पुन: सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

जयनेपाल !
शेरबहादुर देउवा
प्रधानमन्त्री