काठमाडौँ, वैशाख ३१ (ई-रैवार)
नेकपा एमालेको माधव नेपाल समूह र जसपा तत्काल ओली नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव पक्षलाई समेत समेटेर सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेपनि नेपाल पक्ष र जसपा तत्काल सरकारमा सहभागी नहुने भएको हो ।
प्रधानमन्त्री ओलीलाई तत्काल सरकारमा सहभागी नबन्ने प्रष्ट पारेको माधव नेपाल निकट स्रोतले जनाएको छ । ‘प्रधानमन्त्रीले सरकारमा सहभागी बनौँ भनेर प्रस्ताव गर्नु स्वभाविक हो तर हामी तत्काल त्यो पक्षमा छैनौ’, स्रोतले भन्यो । पार्टीभित्रका समस्या समाधान नभई सरकारमा नजाने नेपाल पक्षको अडान छ ।
‘पाटीभित्रका अन्तरविरोधहरु मिलाउन उहाँ (प्रधानमन्त्री) जेठ २ गतेमा फर्कने भन्ने कुरा छ त्यो विषयमा कंक्रिट सहमति नहुँदासम्म सरकारमा जाने कुनै सम्भावना हुँदैन,’ स्रोतको भनाइ छ ।
उता जनता समाजवादी पार्टी (जसपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी हुन प्रस्ताव गरे पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने बताएका छन् ।
‘संविधान संशोधनका लागि मस्यौदा समिति, नेता कार्यकर्ताको रिहालगायतका एजेण्डाको सम्बोधन हाम्रो मुख्य उद्धेश्य हो,’ जसपा कार्यकारिणी सदस्य चन्दा चौधरीले भनिन्, ‘हामी सरकारमा गयौं भने पनि एक डेढ महिनापछि जान्छौं। त्यति बेलासम्म हाम्रा माग पुरा हुने चरणमा हुनुपर्छ। अन्यथा हामी सरकारमा जादैनौं।’
जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो ओलीकै निरन्तराको पक्षमा थिए। जसपाको ठाकुर र महतोले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बन्न नसकेको हो।
बिहीबार राति तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले शुक्रबार (आज) सपथ ग्रहण गर्दैछन् । आफ्नो सपथ ग्रहणसँगै ओलीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
‘मन्त्रिमण्डल कत्रो बनाउने र को को सहभागी हुने भन्ने प्रधानमन्त्रीज्यूले आन्तरिक छलफल गरिरहनुभएको छ,’ नेता नेम्वाङले भने, ‘सकभर सबै पक्षलाई समेट्ने भन्ने नै छ ।’ त्यसका लागि प्रधानमन्त्री ओलीले जसपा र माधव समुहका नेताहरुलाई सरकारमा सहभागी बन्न आग्रह गरेको बताइएको छ ।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी राजनीतिक दलहरुले सरकार गठन गर्न नसकेपछि पुनः एमाले अध्यक्ष केपी शर्मा ओली नै धारा ७६ को ३ अनुसार ठुलो दलको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।
एमालेको माधव समुह र जसपा समेत तत्काल सरकारमा सहभागी नभए ओलीले आफु पक्षका केही नेतालाई पहिलो चरणमा मन्त्रि बनाउने तयारी गरेका छन् । पहिलो चरणमा ओलीले विष्णु पौडेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा, बसन्त नेम्वाङ लगायतलाई समेट्ने तयारी गरेको बुझिएको छ ।
तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गर्न लागेका छन् । शपथ ग्रहणपछि प्रधानमन्त्री ओलीले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।


