मतदाता नामावली संकलन आजदेखि स्थगित, कति पुगे मतदाता ?

Spread the love

काठमाडौँ : मतदाता नामावली संकलन आजदेखि स्थगित भएको छ । आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनकाे काम पनि आज मंगलबारबाट स्थगित गरेकाे हो।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन। सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो। हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयाेगकाे प्रारम्भिक तथ्यांक छ ।

सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेसँगै नेपाल प्रहरीले सुरक्षा रणनीतिको गृहकार्य समेत सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको जनाएको छ ।

यही माघ १९ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि तयार रहन र सुरक्षा योजना पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको थियो । आज पनि सुरक्षा समितिको बैठक बस्दै छ ।

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरेको डीआईजी धानुकले जानकारी दिए ।

यस्तै, प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेको छ । ०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन भए पनि यसपटक भने एकैचरणमा निर्वाचन हुनेछ । ०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो । निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन हुँदै आएका छन् ।