काठमाडौँ, कार्तिक ६ (ई-रैवार)
बडादशैँको आज छैठौँ दिन ‘कात्यायनी’ भगवतीको विशेष पूजा गरिदैछ । कात्यायनीलाई साहसको प्रतीक मानिन्छ । आजको दिन दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।
कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ ।
देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी थिइन्। कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले लोकमा प्रसिद्ध भएकी हुन्। माता कात्यायनीको वदन वर्ण सुन्तला रङको रहेको वर्णन गरिएको छ। उनले हातमा चम्किलो खड्ग धारण गरेकी छन्, उनको यो शस्त्रलाई चन्द्रहास खड्ग भनिन्छ।
अतिशक्तिशाली सिंहमा चढेर देवी कात्यायनीले दानवको वध गरेको देवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ। कात्यायनी देवीलाई वैज्ञानिक दृष्टिले ब्रह्माण्डीय सम्पूर्ण केन्द्र शक्तिको स्वरूप मानिन्छ । उनलाई विशेष गरी गुलिया परिकार प्रिय रहेकाले विभिन्न प्रकारका मिष्ठान्न अर्पण गर्नुपर्ने मान्यता रहेको छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
यस दिन सात वर्षकी कन्यालाई ‘चण्डिका’ नामले पूजा गरिन्छ र विशेष रूपमा उनलाई अलंकार वा गरगहना चढाइन्छ । दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपको पूजा गरिदैँ आएको छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् ।
कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।


