काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तिरुवा ‘रवीकिरण’सहितलाई मंगलबार पार्टीमा स्वागत गदै उनले सो कुरा बताएका हुन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
प्रचण्डले प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न लागेकोले परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य–भविष्यका लागि अझै लड्न माओवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए ।
‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेका छन्’, उनले भने, ‘हामी यति ठूलो परिवर्तनका बाहक विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’
प्रचण्डले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिंदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताए। उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं। हामीलाई कसैले परास्त गर्न सक्दैन।’
अध्यक्ष दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए।


