जन्ती सवार जिप दुर्घटना : ८ जनाको मृत्यु, बेहुला-बेहुलीसहित ५ जना घाइते

Spread the love

प्युठान : प्युठानमा जिप दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । भने ५ जना घाइते भएका छन् । बेहुला-बेहुलीसहित जन्ती सवार जीप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको प्रहरी जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले पाँच महिला र तीन पुरुष गरी आठजनाको मृत्यु भएको जानकारी दिएका हुन ।  शनिबार बिहान ३ बजे नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको जिप दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गैरेका अनुसार मृतकहरुमा ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्का रहेका छन् । अन्यको पहिचान खुल्न बाँकी छ ।

बेहुला- बेहुलीसहित ५ जना घाइते छन् । घाइतेलाई थप उपचारका लागि बुटवल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । बेहुला-बेहुली दुवैको अवस्था गम्भीर रहेको प्रवक्ता प्रहरी निरीक्षक गैरेले जानकारी दिए। 

दुर्घटनास्थल निकै विकट भएकाले घाइतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिन भएको प्रहरीले जनाएको छ। नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक गैरेका अनुसार सडकमा पहिरो गएका कारण जीप दुर्घटनामा परेको हो । जीप सडकदेखि करिब ३०० मिटर तल खोल्सामा खसेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अहिले भने वर्षा रोकिएको छ।