धनगढी : उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको हो।
हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी क्षेत्रमा हिमपात हुदाँ दार्चुला, बैतडी, डडेल्धुरा, बाजुरा, बझाङ, डोटी लगायतका जिल्लाका उच्च हिमाली र पहाडी क्षेत्रमा बिहीबार वर्षासँगै हिमपात भएको हो ।
हिमपातपछि बढेको चिसोले यी जिल्लाको जनजीवन प्रभावित बनेको छ भने ठाउँ–ठाउँमा राजमार्ग अवरुद्ध हुँदा सवारी साधन चल्न सकेका छैनन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार हिमपातले पहाडी जिल्लाको यातायात सेवा प्रभावित भएको छ ।
सुदूूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा तराईबाट पहाड जाने र तराई झर्ने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीकाअनुसार डोटीको गैरा र डडेल्धुरामा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै बैतडीमा अनारखोली, खोडपे, ढोल्यामोड, सतबाँझ, देहिमाडौँ लगायतका ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ भने बझाङमा जयपृथ्वी राजमार्ग पनि अवरुद्ध छ ।
यस्तै जुम्लामा भारी हिमपात भएको छ। जुम्लाबाट चल्ने लामो दूरीमा सवारीसाधन हिमपातले गर्दा चल्न सकेका छैनन्। हिमपातले रुकुम– बागलुङ हुँदै पोखरा जोड्ने लोकमार्ग अवरुद्ध भएको छ। रुकुम पूर्वका प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार भारी हिमपातपछि बिहीबारदेखि लोकमार्ग अबरुद्ध भएको हो।
‘सडकमा बाक्लो हिउँ जमेका कारण सवारी साधन चल्न सकेका छैनन्,’ उनले भने। काठमाडौंलगायत क्षेत्रमा पनि बिहीबारदेखि वर्षा भइरहेको छ। शनिबारसम्म मौसम प्रभावित हुने र त्यसपछि मौसम सफा हुने बताइएको छ।
देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रवार दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहति असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हिमपातको सम्भावना रहेको ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


