देउवा-प्रचण्ड भेटवार्ता : के-के भयो कुराकानी ?

देउवा-प्रचण्ड भेटवार्ता : के-के भयो कुराकानी ?
Spread the love

काठमाडौं, वैशाख २४ (ई-रैवार)

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति  देउवा भेट्न माओवादी अध्यक्ष प्रचण्ड ६ बजे बुढानिलकण्ठ पुगेका हुन् ।

शुक्रबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । राष्ट्रिय सभाको उपनिर्वाचन र नयाँ सरकार गठनका विषयमा उनीहरुबीच करिब आधा घण्टा छलफल भएको स्रोतले बतायो ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्ड केही बेरअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग उनको लैनचौरस्थित निवासमा भेटघाट सकेर बुढानिलकण्ठ पुगेका थिए ।

२७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय छ । सो विषयमा कसरी अघि बढ्ने भन्ने छलफल गर्न र अन्य प्रतिपक्षी दलसँगको संवादबारे देउवालाई जानकारी गराउन प्रचण्ड बुढानिलकण्ठ पुगेको स्रोतले जनाएको हो ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेता देउवालाई भेट्न उनको निवास पुगेका थिए । वैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्‌बाट विश्वासको मत लिने तयारी भएको बेला दाहाल र देउवाबीच छलफल भएको हो ।

बिहीबार एमाले नेता माधवकुमार नेपाल र भीम रावल पनि देउवा भेट्न उनको निवास पुगेका थिए ।