काठमाडौँ : नेपालमा उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोनाभाइरसविरुद्धको खोपको पूर्ण मात्रा पूरा गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बधाई दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले बिहीबार आधिकारिक ट्वीटरमार्फत नेपाललाई बधाई दिएको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ। ‘सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई।
यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ’, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ।
नेपालले बुधबार मात्रै १८ वर्षभन्दा माथिका ७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप दिइएको जनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १९ गतेसम्मको तथ्यांकअनुसार १८ वर्षमाथिका ७४.४ प्रतिशतले पूर्ण र ८६ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ।


