आजको मौसम : अधिकांश भू-भागमा वर्षा, शनिबारसम्म सतर्क रहन सरकारको आग्रह

Spread the love

काठमाडौँ, जेठ १३ (ई-रैवार) 

यास चक्रवातको असरले मुलुकका अधिकांश भू-भागमा वर्षा हुने भएको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण मंगलबारदेखि नै भइरहेको वर्षा अब शनिबारसम्म अझ बढ्दै जाने मौसमविदले जनाएका हुन् ।

गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शक्तिशाली चक्रवातका कारण पुग्नसक्ने क्षतिबाट बच्न आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको हो ।

प्राधिकरणले बुधबार प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्नेबारे सञ्चार माध्यममार्फत सचेत गराउनु पर्ने बताउँदै प्राधिकरणले आफ्नो आसपासको ठाउँमा बाढी, पहिरो, डुबान, कटानको जोखिम देखिए सुरक्षा निकाय, पालिका एवम् जिल्ला विपद् व्यवस्थापन समितिलाई खबर गर्न भनेको छ ।

बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशका हिमाली र उच्च पहाडी भू-भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहाडमा भू–क्षय र पहिरो एवम् तराईमा बाढी आउन सक्ने सम्भावना दृष्टिगत गरी हरेक जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा राख्नु पर्छ,” प्राधिकरणल प्रेस नोट जारी गर्दै भनेको छ, “सम्भावित वर्षा एवम् बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर ११५५ मा फोन गर्नुपर्छ ।”