बैतडी : बैतडीमा यात्रु बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । बैतडीको पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा आठ जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वरजाँदै गरेको ना.६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।
दुर्घटनामा मेलौली नगरपालिका–१ को कमलापति भट्ट, कञ्चनपुरको वेदकोट नगरपालिका बस्ने २१ वर्षीय पुजा भट्ट, मेलौली ९ बस्ने ३९ वर्षीय दुर्गादत्त भट्ट, ६८ वर्षीय रामसिंह साउद, बाराका ४५ वर्षीय सिराज अन्सारी, मेलौली २ बस्ने २१ वर्षीय मनिस चन्द, शिवनाथ गाउँपालिका–५ की २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ बस्ने २९ वर्षीय जनक आउजी घाइते भएका छन् ।
दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताएका छन् । बिष्टले भने,“ घाईतेको उद्धारका लागि पाटनबाट जिप पठाएका छौं । उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी पनि खटिएका छन् ।
बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका वीरेन्द्र लुहारलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रवक्ता प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।


