देशका विभिन्न भागमा वर्षा र हिमपात हुने, चिसोबाट बच्न र जोगिन सतर्कता अपनाउन अनुरोध

Spread the love

काठमाण्डौं : देशका विभिन्न भागमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको हो ।

मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका हुन्। आज देशको पहाडी भू–भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सि शनिबारबाट सफा हुनेछ। ‘मौसममा दैनिक सुधार हुँदै आएको छ। हिजोभन्दा आज कम हुन्छ, आजभन्दा भोलि कम र शनिबारदेखि मौसम सफा हुने देखिन्छ’, नगरकोटीले भनिन्।