काठमाडौं, कार्तिक १४ (ई-रैवार)
सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ ।
नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० जना नेपाली विद्यार्थीमाथिमात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए ।
देहरादून घटनाबारे सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता लम्सालले भने, “उत्तराखण्ड बालअधिकार आयोगका अध्यक्षलगायत पदाधिकारीको उपस्थितिमा छलफल भएको तथा घटनाप्रति दुःख व्यक्त गर्दै विद्यालय प्रशासनले क्षमायाचना गर्नाका साथै भविष्यमा यस्ता घटना नहुने प्रतिबद्धता व्यक्त गरेको छ ।”
नयाँदिल्लीस्थित दूतावासका ‘काउन्सलेर’ प्रकाश अधिकारी हाल नेपालमा रहनुभएकाले पीडित र अन्य विद्यार्थीका अभिभावकसँग उनले छलफल गरेका जानकारी दिँदै प्रवक्ता लम्सालले अभिभावकको चाहनाअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्न मन्त्रालय तत्पर रहेको बताए। उनले सम्बन्धित निकायसँग दूतावास र परराष्ट्र मन्त्रालयले निकट सम्पर्कमा रहेर समन्वय गरिरहेको बताए ।
रासस


