नेपालगञ्ज : काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका छन् । नेपालगञ्ज विमानस्थलको मौसम खराब हुँदा काठमाडौबाट नेपालगञ्ज आएको बुद्ध एअरको विमान अवतरण गर्न नसकेर होल्ड गरिएपछि आत्तिएर काठमाडौं महानगरपालीका वडा नम्वर २३ कि ५३ वर्षीया जानुका थापा बेहोस भएकि हुन।
नेपालगञ्ज विमानस्थलको सुरक्षा गार्डका प्रमुख सई सन्तोष शाहले विमान हावामा होल्ड रहेकै अवस्थामा थापा आत्तिएर बेहोस भएकोमा उनलाई तत्काल नजिकै रहेको नेपाली सेनाको अस्पतालमा लगिएको बताए ।
बुद्ध एयरका अनुसार काठमाडौंबाट ७:४४ मा उडेको उडान नं ४५१ जहाज निर्धारित समयअनुसार ८:४४ मा अवतरण हुनुपर्ने थियो । तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल भएपछि जहाज होल्डमा पर्यो । यो जहाज बिहान ९:१८ मा अवतरण भएको थियो ।
थापाको सामान्य उपचारपछि निको भएर फर्किसकेको कम्पनीका एक अधिकारीले जानकारी दिएका छन् । ‘जहाज धेरै समय होल्ड भएपछि आत्तिएर बेहोस भएको जस्तो देखिन्छ,’ उनले भने । जहाजमा ६९ जना यात्रु थिए ।
बाँके जिल्लाका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेसँग जानकारी माग्दा उनले आत्तिएर जहाजमा बेहोस हुनुभएकी महिलाको सामान्य उपचारपछि उनका आफन्तले आफूसँग घर लिएर गैसकेको बताए।
पछिल्लो समयमा जहाजहरुमा उड्दा उड्दै ढोका खुल्ने, अन्य खराबी आउने र इन्जन बन्द हुने कारणले केही यात्रुहरु आत्तिने र तर्सिने गरेको पाइएको डीएसपी न्यौपाने बताए ।
खराब मौसमका कारण बिहानैदेखि आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका तथा हिमपातका कारण तराई क्षेत्रका तीन वटा र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।
त्रिभुवन विमानस्थलका अनुसार विराटनगर विमानस्थल, भरतपुर विमानस्थल र भैरहवा विमानस्थल खराब मौसमकै कारण अहिलेसम्म खुल्न सकेका छैनन् । यस्तै, लुक्ला, फाप्लु, सिमीकोट, डोल्पा र रारामा भन हिमपातका कारण उडानहरु प्रभावित भएका छन् ।
यी क्षेत्रहरुको भिजिविलिटी एक हजार मिटर भन्दा कम रहेकाले उडानमा समस्या आएको विमानस्थलको भनाइ छ । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ ।
काठमाडौंको अवस्था ठीक रहेको छ भने जनकपुर, नेपालगञ्ज, चन्द्रगढी, सुर्खेत, पोखरा र तुम्लिङटार विमानस्थलको अवस्था सामान्य रहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
अहिलेसम्म प्रभावित गन्तव्यहरुमा जाने आउने गरी करिब दुई दर्जन उडान प्रभावित भएको हुनसक्ने उनले जानकारी दिए । उता अन्तर्राष्ट्रिय उडान तर्फ भने अहिलेसम्म कुनै समस्या नआएको प्रवक्ता सिटौलाले जानकारी दिए ।


