लखनऊ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ। उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो ।
बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले उपचार भइरहेको छ। उनलाई गोली हान्नेहरू फरार छन्।
रीता यादवले मिडियालाई दिएको जानकारी अनुसार उनी पोष्टर र ब्यानर बनाउन सुल्तानपुर गएर घर फर्किने क्रममा लम्भुजा नजिक राजमार्गमा गोली हानिएको हो ।
यादवले गत नोभेम्बर १६ मा पूर्वाञ्चल एक्सप्रेस वेको लोकार्पण गर्न जाँदा सुल्तानपुरमा मोदीलाई कालो झन्डा देखाएकी थिइन्। उनलाई तत्काल प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन्।
पहिला समाजवादी पार्टीमा रहेकी रिता गत डिसेम्बरमा कंग्रेस आई पार्टीमा प्रवेश गरेकी थिइन्। उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् । उत्तर प्रदेशमा केही समयपछि विधान सभाको चुनाव हुँदैछ। एजेन्सी


