राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उमेदवारको मनोनयन दर्ता हुँदै

Spread the love

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि निर्वाचन हुने लागेको हो ।

सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

२१ गते उमेदवारीमा दाबी विरोध, २२ र २३ गते उजुरीमाथि जाँचबुझ, २४ गते उमेदवारले नाम फिर्ता र २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगले २५ गते नै उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।   

निर्वाचन आयोगका अनुसार रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहका रहेका छन् ।

प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । यो चुनावका लागि सत्ता साझेदार दल र प्रतिपक्षी एमाले प्रतिस्पर्धा गर्दैछन् ।

चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा ( केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिनेछन् । 

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश नं दुई र सुदूर पश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले वाग्मती र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २ मा मात्र भाग लिने जानकारी दिइएको छ । 

९ सिटमा सत्ता गठबन्धनमा रहेका दलले भागबण्डा गरेका छन् । जसअनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्नेछन् ।

एमाले भने एक्लै चुनावी मैदानमा छ । उसले एक्लै रिक्त १९ पदमा उम्मेदवारी दर्ता गर्दै छ । एमालेले सबै उम्मेदवारको टुंगो लगाइसकेको छ ।