काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ। आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारहरूको टुंगो लगाएका हुन्।
माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।
सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए। जसअनुसार माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ।
माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ ।
उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन भने माघ १२ मा हुनेछ।निर्वाचनका लागि आज उम्मेदवारी दिनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।


