काठमाडौं, वैशाख २१ (ई-रैवार)
सरकारले फेरि संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले मंगलबार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।
भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लगायतका अध्यादेश जारी गरेकी हुन् ।
यसअघि सरकारले गत मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरेको थियो ।



