एमाले स्थायी कमिटी बैठक बस्दै, महाधिवेशन केन्द्रित छलफल हुने

Spread the love

काठमाडौं, कार्तिक ११ (ई-रैबार) 

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजेका लागि च्यासलस्थित तुल्सीलाल स्मृति प्रस्तिष्ठानमा बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठक आसन्न राष्ट्रिय महाधिवेशनको विषयमा केन्द्रित हुने छ । बैठकका लागि दुईवटा एजेण्डा तय भएको छ । बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ र समीक्षा हुने केन्द्रीय कार्यालयका सचिव तामाङले जानकारी दिए ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोटका विषयमा छलफल हुने जानकारी दिए । ‘महाधिवेशन प्रतिनिधिहरु कुन रेसियोमा छनोट गर्ने, कति हुने लगायतका विषयमा बैठकमा छलफल हुन्छ,’ उपाध्यक्ष ज्ञवालीले भने ।

एमालेको ६ हजारभन्दा बढी वडा र ६ सयभन्दा धेरै पालिकामा अधिवेशन गरिसकेको छ । अधिकांश स्थानमा अधिवेशन सर्वसम्मत भएको छ । बाँकी रहेका वडा र पालिकाको अधिवेशन कार्तिकभित्र सक्ने नेताहरुले बताएका छन् ।

बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाको विषयमा पनि छलफल हुने सचिव तामाङले जानकारी दिए । दशौं राष्ट्रिय महाधिवेशन मंसिर १०–१२ गतेसम्म चितवनमा हुनेछ । उक्त महाधिवेशनका लागि प्रतिनधिका विषयमा एमालेले छलफल गर्न लागेको  हो ।

सोही मापदण्ड निर्धारण गर्न यसअघि बसेको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक आह्वान गरिसकेको छ ।