न्यायाधीशहरुको बहिष्कारका बीच प्रधानन्यायाधीश जबराले तोके संवैधानिकसहित ११ इजलास

Spread the love

काठमाडौं, कार्तिक १० (ई-रैबार)  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका छन्। न्यायाधीशहरूले पेसी बहिष्कार गरिरहँदा बुधबार प्रधानन्यायाधीश जबराले संवैधानिक इजलाससहित ११ वटा इजलास तोकेका हुन ।

संवैधानिक इजलासमा प्रधान्यायाधीश जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ छन् । यी चारजना न्यायाधीशसहित सर्वोच्चका एक दर्जन बढी न्यायाधीशहरु दुई दिनदेखि इजलास बहिष्कार गर्दै आएका छन्।

आजको संवैधानिक इजलासमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध गणेश हमाललगायतले दायर गरेको पेशी चढेको छ।प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

अन्य न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग गरेर इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीशले आफू मात्रै रहने इजलास तोकेर उनीहरुलाई चुनौती दिन खोजेको देखिन्छ ।  इजलास बहिस्कार गर्ने न्यायाधीशहरूले आजै आन्तरिक छलफल गर्दैछन् । विगत ३ दिन देखि विवादका कारण सर्वोच्चमा सुनुवाइ अवरुद्ध हुँदै आएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले लगातार इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश जबराले भने मंगलबारका लागि इजलास तोकेका हुन्। तर इजलास बस्नेरनबस्ने अझैं टुंगो लागेको छैन। नियमित इजलास नबस्दा लामो समयदेखि न्यायको पर्खाइमा रहेका नागरिकहरु न्याय पाउनबाट बंचित भएका छन्।