धनगढी, जेठ २७ (ई-रैवार)
राहादानी दुरुपयोगगरी मानव तस्करी गरेको अभियोग लागेका नारदमुनी राना मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा अोलीले १९ औं पटक मन्त्रिपरिषद् विस्तार गर्दा कूटनीतिक राहादानी दुरुपयोग गरी मानव तस्करी गरेको गम्भीर अभियोग लागेका रानालाई मन्त्री बनाउन लागेका हुन ।
कैलाली क्षेत्र नं. ५ बाट निर्वाचित राना विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै छ । रानालाई ओलीले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका छन् । ३ वर्षपछि सांसदबाट पदमुक्त भएपछि राना आज साँझ ४ बजे मन्त्रीको सपथ खादै छन् ।
उनीविरुद्ध कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गरी मानव तस्करी गरेको अभियोग लागेको छ । तत्कालीन संविधान सभाका सदस्य एवं व्यवस्थापिका संसदका सांसदहरूको हैसियतमा प्राप्त भएको कूटनीतिक राहदानी दुरुपयोगगरी मानव तस्करी गरेको मुद्दा सर्वोच्चमा पेसी चढ्ने र मुद्दाका विवरण मगाउने आदेश हुँदै आएको छ ।
उनको रातो पासपोर्टमा फोटो परिवर्तन गरी म्याग्दीका निर्मल बाँनिया ११ डिसेम्बर २०१० मा अस्ट्रेलिया उडेका थिए । आर्थिक लाभ लिएर उनले आफ्नो रातो पासपोर्टमा मानव तस्करी गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो । उनीविरुद्ध राहदानी ऐनअुनसार सरकारी वकिलले मुद्दा दायर गरेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा दुईवटा मुद्दा दायर भएको थियो । जिल्ला अदालतमा किर्ते र ठगीमा मुद्दा दायर भएको थियो भने विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
विशेष अदालतले सफाई दिएपछि विशेष अदालतको फैसलाविरुद्ध सरकारी पक्षले पुनरावेदन दायर गरेका थिए । मुद्दा फैसलाका लागि अङ्ग पुगिसक्दा पनि अन्तिम सुनुवाइ शुरु हुन सकेको छैन ।
विशेष अदालतले सांसद रानालाई सफाई दिएको थियो भने पूर्वसभासदहरू शिवपुजन राय, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो । यो मुद्दाको पछिल्लो पेसी जेठ २५ गते थियो । उक्त दिन पेसी चढ्ने सम्भावना नभएपछि अदालतले नै स्थगित गरेको थियो ।


