सभापति देउवाले दिए महाधिवेशनलाई व्यवस्थित बढाउन नेता कार्यकर्तालाई निर्देशन

Spread the love

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनलाई व्यवस्थित रूपमा अघि बढाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार महाधिवेशन सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरूसँग छलफल गर्दै सभापति देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा गर्न सबै तयारी पूरा गर्न निर्देशन दिएका हुन् । कांग्रेसले महाधिवेशनको तयारीका लागि एक दर्जन समिति गठन गरेको थियो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगायतले उद्घाटन समारोहका तयारीका बारेमा सभापति देउवालाई जानकारी गराएको जानकारी दिएका छन् । महाधिवशेनमा पार्टीको महामन्त्रीको संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेस हुने उनले बताए ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताए । उनले महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुने जानकारी दिए ।

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश सभा, प्रतिनिधिसभा, जिल्ला हुँदै प्रदेश अधिवेशन सम्पन्न भइसकेको छ । जिल्लाहरुमा प्रतिनिधि छनोटमै विवाद भएपछि प्रदेश २ को प्रदेश समितिको अधिवेशन भने महाधिवेशन पछि हुने भएको छ ।

कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका हुन् । असार २९ गते प्रधानमन्त्री नियुक्त बनेका देउवा कांग्रेस महाधिवेशनको तयारीका बारेमा छलफल गर्न सोमबार पार्टी कार्यालय पुगेका हुन् ।

सानेपामा क्रियाशील सदस्यताको विषयलाई लिएर विभिन्न जिल्लाका नेता कार्यकर्ता महिनौं लामो अनसनमा बसेपछि सभापति देउवा पार्टी कार्यालय गएका थिएनन् । र्टीका बैठकहरु देउवा निवास बुढानिलकण्ठमा हुँदै आएका छन् । अधिवेशन प्रक्रिया अघि बढेसँगै सानेपामा जारी अनसन पनि स्थगन भएका छन् ।