सरकारले राहतको विशेष प्याकेज ल्याउँछ: मन्त्री बडू

Spread the love

महेन्द्रनगर, कार्तिक ६ (ई-रैवार)

न्याय, कानुन तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन्।

नेपाली कांग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको बताए।

‘पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,’ मन्त्री बडूले  भने, ‘योजनाबद्ध ढंगले राहत र पुनर्स्थापनामा सरकार लाग्छ।’

बाढी र पहिराबाट भएको क्षतिका कारण पुनर्निर्माणमा ढिलाइ भए पनि राहत प्याकेज तत्काल ल्याइने उल्लेख गर्दै उनले भने, ‘देशभरको क्षतिको अवस्था हेर्दा वैदेशिक सहायता जुटाएर पनि जनताको पीडामा मल्हम लगाउँछौं।’

फरक प्रसङ्गमा मन्त्री बडूले नेपाली कांग्रेसलाई मुलुक हाँक्ने जिम्मेवारी आएको बताए। ‘मुलुकको सफलता र संविधानको रक्षाका लागि सरकारमा आयौं,’ उनले भने, ‘अहिले हाम्रासामु चुनौती पनि धेरै छन्।’ रासस