काठमाण्डौं वैशाख १०(ई-रैवार)
बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाए ।
बालुवाटारमा प्रचण्डलाई समेत साक्षी राखेर प्रधानमन्त्री ओलीले नेकपाका सांसदहरूसँग प्रदेशगत रुपमा सामूहिक छलफल प्रारम्भ गरे ।
हरेक प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बालुवाटारमा बोलाएर अध्यक्षद्वयले समूहगत छलफल गरेका हुन् । छलफलको सुरुवात सुदुरपश्चिमका सांसदहरूबाट भएको छ । काठमाडौंमा उपलब्ध भएसम्म सांसदहरूलाई बालुवाटार आउन भनिएको थियो ।
सरकारले ल्याएका दुई अध्यादेशका कारण नेकपाभित्र असमझदारी उत्कर्षमा पुगेपछि नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले बुधवार बालुवाटारमा सांसदहरूसँगको सामूहिक छलफल गरेका हुन् । यो छलफल प्रधानमन्त्रीको आग्रहमा आयोजना गरिएको नेकपा स्रोतको भनाइ छ ।
पहिलो बरियताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरुलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेका थिए
नेपालमा कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर सांसदहरुसँग छलफलको आयोजना गरिएको प्रधानमन्त्री ओलीले बताएका थिए ।
‘प्रधानमन्त्रीले दुबै अध्यक्ष सँगै बसेर सांसदहरुसँग छलफल गरौँ भन्नुभयो, एकजना पूर्वमाओवादी समूहका नेकपा नेताले भने, ‘यस्तोबेलामा पार्टी एक छ भन्ने सन्देश जाओस् भनेर प्रचण्डले पनि हुन्छ भन्नुभयो र बालुवाटार जानुभयो ।’
अध्यादेशको बचाउ गर्ने प्रधानमन्त्रीको प्रयास
प्रधानमन्त्री निवासमा आयोजित छलफलमा सांसदहरूको जिज्ञासा कोरोना कसरी भगाउने भन्दा पनि पार्टी एकता जोगाउने र विवादित अध्यादेशतिरै केन्द्रित थियो ।
यद्यपि, केही सांसदहरूले सीमापारि रोकिएका नेपालीहरूलाई स्वदेश ल्याउन सरकारले पहल गर्नुपर्ने माग राखेका थिए । सांसद दीपकप्रकाश भट्ट, गणेश सिंह ठगुन्ना लगायतका सांसदहरूले सीमापारि रहेका नेपालीका समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए । सुदुरपश्चिममा अर्का नेता भीम रावलले भने अध्यादेशको औचित्यमाथि प्रश्न उठाएका थिए ।
सांसद झपट रावलले ‘मेरा पनि केही कुरा छन्’ भन्दै बोल्न खोज्दा प्रधानमन्त्रीले समय छैन भन्दै रोकेपछि उनले बोल्न पाएनन् ।
पहिलो वरीयताका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका सांसदहरूलाई लामो पृष्ठभूमि बाँधेर अध्यादेशको औचित्य पुष्टि गर्ने प्रयास गरिरहँदा प्रचण्डचाहिँ मौन बसेका थिए ।
प्रधानमन्त्रीले केही मिटरको दुरीमा बसेका प्रचण्डलाई पनि सांसदहरू समक्ष केही कुरा राख्न आग्रह गरे । तर, प्रचण्डले ‘प्रधानमन्त्रीज्यूले भनिसकेपछि मैले बोल्नुपरेन’ भन्दै मौनता तोडेनन् ।
प्रधानमन्त्री ओलीले नेकपा एकीकरण विभाजनका लागि नभई अझ बलियो एकताका लागि भएकाले कुनै हालतमा पार्टी फुट्न नदिइने बचन दिए । दुई अध्यक्षबीच कतिपय असमझदारी भए छलफल गरेर सहमतिमै पार्टी र सरकार सञ्चालन हुने ओलीले बताएको कञ्चनपुर९२ का सांसद नरबहादुर धामीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै धामीले भने, ‘यो पार्टी कुनै कानुन बनाएर एकता भएको पनि होइन र कुनै कानुन बनाएर विभाजन पनि हुँदैन । इतिहासमै नभएको काम हामी दुईजना अध्यक्ष मिलेर गरेका छौँ। एउटामात्रै अध्यक्ष हुने ठाउँमा दुईजना छौँ। हाम्रा कतिपय व्यक्तिगत स्वभाव र शैलीहरू नमिलेका होलान्, आपसमा बसेरै मिलाउँछौँ।’
प्रधानमन्त्री अध्यादेशको बचाउमा, प्रचण्ड मौन


